कपिलवस्तु, ४ पुस २०७३ । लुम्बिनी विकास कोषमा कार्यरत ज्यालादारी तथा सेवा करार कर्मचारीले आफ्ना मागको सुनुवाइ नभएको भन्दै आमरण अनशन सुरु गरेका छन् ।
लुम्बिनी विकास कोषको व्यवस्थापन पक्षले लामो समयसम्मै आफ्ना माग पूरा नगरेको भन्दै विगतदेखि नै आन्दोलनमा उक्रिएका थिए । कर्मचारीले ५ बुँदे माग राख्दै कोषको कार्यालय अगाडि टेन्ट टाँगेर आमरण अनशन सुरु गरेका हुन् ।
कोषका सदस्य सचिव अजितमान तामाङलाई बखास्त गरिनुपर्ने, कोषमा कार्यरत ज्यालादारी तथा सेवा करार कर्मचारीको विगत आन्दोलनको समयको ३ महिना १५ दिनको तलब तुरुन्त दिनुपर्ने, असोज, कात्तिक मङ्सिर महिनाको तलब पनि तुरुन्त दिइनु पर्ने, कोषका सम्पूर्ण पीडित कर्मचारीको बढुवालगायत अन्य सुविधा प्रदान गर्नुपर्नेलगायतका माग ती कर्मचारीको रहेको छ ।
साथै उनीहरुले कोषमा भइरहेको अनियमितता र भ्रष्टचारको अन्त्य गरी कोषमा अनियमितता र भ्रष्टाचार गर्नेलाई तुरुन्त कारबाही गर्नुपर्ने तथा भेदभावपूर्ण तरिकाबाट कोषमा कार्यरत कर्मचारीलाई भइरहेको कारबाही तुरुन्त रोक्नुपर्ने माग राखेका छन् ।


