बागलुङ गोल्डकप’ फुटबल प्रतियोगिता माघमा

बागलुङ, ४ पुस २०७३ । बागलुङमा आगामी माघमा ‘बागलुङ गोल्डकप फुटबल प्रतियोगिता–२०७३’ हुने भएको छ ।

दलिय युवा सञ्जाल बागलुङले माघे सङ्क्रान्ति पर्वको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागेको हो । माघ १ देखि ५ गतेसम्म स्थानीय बाङ्गेचौर खेल मैदानमा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता समूहलाई रु १ लाख र उपविजेतालाई रु ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद रु १० हजार, सर्वाधिक गोलकर्तालाई रु १० हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, फरवार्डर, अनुशासित समूह, प्रशिक्षकलाई रु ५ हजारका दरले पुरस्कार दिने व्यवस्था गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न कुल रु ११ लाख ९१ हजार ५०० खर्च लाग्ने अनुमान गरिएको सञ्जालका अध्यक्ष राजकुमार बोसेलले जानकारी दिनुभयो । “बागलुङमा फुटबल गतिविधि सुस्ताएपछि प्रतियोगिता आयोजना गरेका हौँ” अध्यक्ष बोसेलले भन्नुभयो “आवश्यक खर्च जुटाउन सहयोग अभियान चलाएका छौँ, सबै पक्षको सहयोगको अपेक्षा गरेका छौँ ।”

सञ्जालले २ वर्षअघि पनि ठूलो पुरस्कार राशिको ‘इमेज गोल्डकप’ आयोजना गरेको थियो । त्यसयता बागलुङमा फुटबलको ठूला प्रतियोगिता हुन सकेका थिएनन् । सञ्जालले अबदेखि बर्सेनि बागलुङ गोल्डकपको नाममा प्रतियोगितालाई निरन्तरता दिने जनाएको छ ।

 

  • 53Read This News:
  • 472908Total reads:
  • 281469Total visitors: