घरघरमा स्वास्थ्य सेवा पुर्याउन सरकार अग्रसरः उपप्रधानमन्त्री यादव

बाँके, १७ चैत २०७५ । उपप्रधान तथा स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवालाई हरेक नेपालीको घरघरमा पुर्याउने कार्यमा सरकार अग्रसर भएकोे बताउनुभएको छ । सङ्घीय समाजवादी फोरम बाँकेले शनिवार नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री यादवले स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित नहोस् भन्ने उद्देश्यले हरेक वडामा स्वास्थ्य केन्द्र तथा हरेक गाउँपालिकामा अस्पताल निर्माण प्रक्रिया शुरु गरिएको बताउनुभयो ।

“संविधानमा मौलिक हकको दर्जा पाएको स्वास्थ्य सेवालाई हरेक नेपालीको घर–घरमा पुर्याउने कार्यमा सरकार लागेको छ । स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित हुनुपर्दैन ।”,सङ्घीय समाजवादी फोरमका अध्यक्ष समेत रहनुभएका स्वास्थ्यम मन्त्री यादवले भन्नुभयो, “अब हरेक वडामा स्वास्थ्य केन्द्र र गाउँपालिकामा अस्पताल सञ्चालन गरिनेछ ।”

यसैवर्ष देशभरमा १ हजार २०० अस्पताल निर्माण भइरहेको उल्लेख गर्दै उहाँले बाँकेमा पश्चिम नेपालकै सबैभन्दा ठूलो अस्पतालका रुपमा भेरी अस्पताललाई ५०० शै्याको अस्पताल बनाउने प्रक्रिया अगाडि बढिसकेको दाबी गर्नुभयो । उहाँले मुलुक सङ्घीय संरचनामा गएकै कारण अहिले जनताको घरघरमा विकास पुग्न थालेको बताउँदै २० औँ वर्षपछि जनताले विकास निर्माणको अनुभूति गर्न पाएको प्रष्ट्याउनुभयो ।

विकासले मात्रै जनताको पेट भर्न नसकिने जनाउँदै उहाँले आर्थिक समृद्धिमार्फत सरकारले गरीबी र बेरोजगारी अन्त्य गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “गरीबी हटाउन स्थानीय, प्रदेश र केन्द्रीय सरकार मिलेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्नुपर्छ ।”

रासस

 

  • 70Read This News:
  • 438372Total reads:
  • 250369Total visitors: