जातीय विभेद अन्त्य गर्न सोचमै परिवर्तन ल्याउनु आवश्यक छ

कञ्चनपुर, ८ चैत २०७५ । जातीय विभेद अन्त्य गर्न सोचमै परिवर्तन ल्याउनु आवश्यक रहेकोमा जोड दिइएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको आयोजनामा झलारीमा बिहीबार मनाइएको ५४औँ अन्तर्राराष्ट्रिय जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवसका सहभागीले जोड दिएका हुन् ।

सुदूरपश्चिम प्रदेशका वन, वातावरण, पर्यटन तथा उद्योग राज्यमन्त्री प्रकाश रावलले भित्री हृदयबाटै जातीय छुवाछुत गर्ने छैन भनेर सबैले प्रण गरे मात्रै दलित समुदायमाथिको जातीय उत्पीडन हट्ने बताउनुभयो । समाजको उन्नति र प्रगतिको बाधक जातीय विभेद हो भन्दै उहाँले उच्च शिक्षासम्म दलित समुदायका बालबालिकाका लागि निःशुल्क शिक्षा र रोजगारका अवसर प्रदान गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । दलित समुदायलाई समाजमा रुपान्तरण गर्न र कुप्रथाको जालो च्यात्न प्रदेश सरकारले कानून निर्माण गरिरहेको उहाँको भनाइ थियो ।

नगरपालिका प्रमुख दिलबहादुर ऐरले संविधानतः सबै जातजाति समान भएकाले जातीय विभेद गरिए कानूनअनुसार विभेद गर्नेलाई कानूनी दायरामा ल्याउन प्रतिबद्ध रहेको बताउनुभयो ।

पञ्चायती व्यवस्थादेखि गणतन्त्रसम्म आइपुग्दा कागजी रूपमा जातीय विभेद अन्त्य भएको घोषणा गरिए पनि व्यवहारमा लागू नहुँदा दलित समुदायमाथिको छुवाछुत नहटेको दलित अगुवा नरबहादुर विकले बताउनुभयो । “दलित समुदायलाई अझै पनि मन्दिर प्रवेश गर्न र घर प्रवेशमा निषेध गरिँदै आएको छ । कथित उपल्लो जातका व्यक्तिलाई छोइहाले छोइछिटो गर्ने चलन यद्यपि कायमै रहेको छ”, उहाँले भन्नुभयो ।

जातीय विभेदको मुद्दा भूमिसँग जोडिएकाले अव्यवस्थित बसोबासको समस्या समाधानका लागि तत्काल कार्य अगाडि बढाइनुपर्ने राष्ट्रिय हलिया महासङ्घका अध्यक्ष ईश्वर सुनारले बताउनुभयो ।

“विश्वविद्यालयमा पढ्ने विद्यार्थीदेखि सांसदसम्मले डेरा खोज्दा जात सोधिन्छ, दलित भएकै कारण डेरासमेत पाइँदैन”, राजुराम भुलले प्रश्न गर्नुभयो, “यो भन्दा जातीय विभेदको अर्को विडम्बना के हुनसक्छ ?” गैसस प्रतिनिधि नरेश सिलालले जातीय विभेद र छुवाछुत हटाउन सबैको प्रतिबद्धताको खाँचो रहेको बताउनुभयो । “मनदेखिनै जातीय विभेद गर्दैनौँ भनेपछि आफैँ हट्छ, यसका लागि प्रण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

रासस

 

  • 77Read This News:
  • 438461Total reads:
  • 250456Total visitors: