घन्कियो तीन सय वर्ष पुरानो ‘फागु’ गीत

बागलुङ्ग, ७ चैत २०७५ । देशभर होलीको रौनक छाइ, युवायुवती ‘ह्यापी होली–ह्याप्पी होली’ भरिहेका बेला बागलुङ्ग सदरमुकाम बागलुङ्ग बजारमा ३०० वर्ष पुरानो फागु गीत गाउँदा छुट्टै रौनकता छायो ।

मजाको फागुन जानै मा लाग्यो, धड्कन लाग्यो छाती हो…..
औँला काटी कलम बनावे रगतके मसिया बनावे….यै हो……
हाय हाय रगत के मसिया बनावे सखियाँ । धड्कन लाग्यो छाती हो…..
मजाको फागुन जानैमा लाग्यो, धड्कन लाग्यो छाती हो……

होलीका अवसरमा बुधवार बागलुङ बजारमा गाइएको यही ऐतिहासिक फागु गीतले युवायुवतीदेखि बुढाबूढीसम्मको ध्यान तान्यो । परम्परालाई संस्थागत गर्ने उद्देश्यले ‘नेपाल भाषा मङ्का खल’को आयोजनामा बागलुङ बजारमा ३०० वर्ष पुरानो फागु गीत गाइएको हो । होलीको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको समयमा मौलिक पहिचान दिने पुरानो फागु गीत गाउँदा युवायुवती आश्चर्यमा परे । नेवारी समुदायमा प्रचलित उक्त गीत नेपाली र अन्य भाषामा लिपिबद्ध छ ।

“फागु गीतमा बलि राजा, विष्णु, महादेव, गणेश, लक्ष्मण, दशरथ, भीमसेन र इन्द्रै जो आए पनि फागुको मजा लिन्छौँ फागुको राग लिन्छौँ गाउँछौँ,” महिला पुरुषबीचको मायाप्रेम, कृष्ण र गोपीनीबीचका माया पिरतीलगायतका भाव गीतमा समावेश गरिएको नेपाल भाषा मङ्का खल बागलुङ्गका सल्लाहकार महेशचन्द्र प्रधानले बताउनुभयो ।

“हामीले संस्कृतिको प्रवद्र्धन गर्न होलीका अवसरमा निकै पुरानो फागु गीत गाउँदै आएका हौँ”, उहाँले भन्नुभयो, “मनका भावनालाई वसन्त राग शैलीमा रङ्गाउने गीत नै फागु गीत हो ।” केही वर्षअघिसम्म शहरबजार र गाउँघरमा फागु पूर्णिमा भनेर बोलिने रङ र आत्मीयताको पर्व अहिले होली भएसँगै परम्परागत महिमा र रौनक हराउँदै गएकोप्रति बागलुङको नेवार समुदाय चिन्तित छ ।

फागु पूर्णिमाको मौलिकता हराउँदै गएपछि यहाँको नेवार समुदाय एकजुट भएर होली पूर्णिमाको दिन फागु गीत गाउँदै आएको नेपाल भाषा मङ्का खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । “फागु पूर्णिमाको मौलिकता जोगाउनु हामी सबैको दायित्व हो”, उहाँले भन्नुभयो ।

रासस

 

  • 58Read This News:
  • 329376Total reads:
  • 160306Total visitors: