एक लाख लिटर घरेलु मदिरा नष्ट

भरतपुर, ३० फागुन २०७५ । चितवन प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

पूर्वी चितवनका विभिन्न क्षेत्रबाट एक हप्ताको अवधिमा प्रहरीले करीब एक लाख सात हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो । आज इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले बरामद गरिएको मदिरा सरोकारवालाको रोहवरमा नष्ट गरेको छ । प्रहरी–समुदाय साझेदारी कार्यक्रमअन्तर्गत शुरु गरेको ‘थ्रि एस’ मा आधारित एक टोल एक घण्टा अप्रेशन अभियानका क्रममा प्रहरीले मदिरा बरामदसँगै अपराध न्यूनीकरणका कार्यक्रम सञ्चालन गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो । सो अभियान फागुन २२ गतेदेखि २९ गतेसम्म सञ्चालन गरेको प्रहरीले जनाएको छ । यो अवधिमा पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाका विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो ।

प्रहरीले राप्ती नगरपालिकाको लोथर, गढौली, प्यारीढाप, चौकीडाँडा, ब्रह्मनगर, रसौली, ड्राइभरटोल, झिरझिरे, खैरहनी नगरपालिकाको सिद्धिपुर, चैनपुर, मगनीचोक, ज्यामिरे, खरखुट्टे, कालिका नगरपालिकाको शक्तिखोर, जुटपानी, पदमपुर, खोलेसिमल, न्युरेनी, गैरीबारी चोक, लाहुरेचोक र रत्ननगर नगरपालिकाको भक्तिनी बगैँचा, बुद्धचोक, सौराहा, पिठुवा, मैनाहा, चित्रसारी तथा टाँडी बजार क्षेत्रमा अभियान सञ्चालन गरेको थियो ।

एक साताको अवधिमा १४२ लाई ट्राफिक कारवाही तथा ट्राफिक सचेतना प्रदान गरिको छ भने शङ्कास्पद गतिविधिमा संलग्न १३ जनालाई पक्राउ गरी अनुसान्धन गरिएको छ । अवैध तथा नियम विपरीत उत्खननमा संलग्न ११ वटा टिपर तथा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायमा कारवाहीका लागि पठाइएको प्रहरी नायब उपरीक्षक ज्ञवालीले जानकारी दिनुभयो ।

“प्रहरीको यो अभियान निकै प्रभावकारी देखिएको छ”, उहाँले भन्नुभयो, “सर्वसाधारणबाट पनि यो अभियानलाई निरन्तरता दिन सुझाव आएको छ ।” यो अभियानमा दैनिक ६० प्रहरी परिचालन भएको पनि उहाँले जानकारी दिनुभयो ।

 

  • 67Read This News:
  • 459370Total reads:
  • 268885Total visitors: