क्रिकेटको उपाधि कालिञ्चोकलाई

दोलखा, २२ फागुन २०७५ । भीमेश्वर नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि कालिञ्चोक माविले जितेको छ । मंगलवार भएको फाइनल खेलमा अल्पाइन पब्लिक स्कूललाई ९५ रनले पछाडि पार्दै कालिञ्चोक माविले उपाधिमाथि कब्जा जमाएको हो ।

टस जितेर ब्याटिङमा उत्रिएको कालिञ्चोकले १४.२ ओभरमा सबै विकेट गुमाउँदै १२९ रन जोड्न सफल भएको थियो । कालिञ्चोकका लागि देवकुमार थामीले सर्वाधिक ४३ रनको योगदान दिएका थिए ।

त्यसैगरी १३० रनको लक्ष्य पाएको अल्पाइनले ७.२ ओभरमा सबै विकेट गुमाउँदै ३४ रन मात्रै जोड्न सक्यो । अल्पाइनका लागि सुजन लामाले सर्वाधिक १० रन जोड्न सफल भएका थिए । अल्पाइनका असिम उप्रेती र सिमान्त कार्कीले तीन र तीन विकेट लिएका थिए भने कालिञ्चोकका सुजन श्रेष्ठले पनि तीन विकेट लिएका थिए ।

कालिञ्चोक माविका देवकुमार थामीले ‘म्यान अफ दी टुर्नामेन्ट’ को उपाधि पाएका छन् । उनले राइजिङ स्टार स्कूलसँगको सेमी फाइनल खेलमा प्रतियोगिताकै सर्वाधिक १०७ रन बनाएका थिए । विजयी खेलाडी तथा टोलीलाई नगरपालिकाका प्रमुख भरतबहादुर केसी, उपप्रमुख कमला बस्नेत र कालिञ्चोक माविका प्रधानाध्यापक नवराज न्यौपानेले पुरस्कार, प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गर्नुभएको थियो । पहिलो हुने टोलीले रु ३० हजार, दोस्रो हुनेले रु २० हजार र तेस्रो हुने टोलीले रु १० हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा विभिन्न सात विद्यालयको सहभागिता थियो ।

रासस/रेडियो नेपाल

 

  • 22Read This News:
  • 0Visitors currently online: