४२३ चालकको सवारी अनुमतिपत्र खारेज

काठमाडौँ, १८ पुस २०७५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।

महाशाखाले पटक/पटक मापसे सेवन गरेर सवारीसाधन चलाएपछि लाइसेन्समा प्वाल पार्दै आएको थियो । विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँच अभियान थालिएको हो । महाशाखाले २०६९ मङ्सिर २२ गतेदेखि मापसे गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्न थालेको हो । हालसम्म विभिन्न चरणमा गरी १ लाख ७८ हजार १९८ चालकको लाइसेन्समा प्वाल पारिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिनुभयो ।

पहिलोपटक १ लाख ३७ हजार ९५२, दोस्रो पटक २६ हजार ७२७, तेस्रो पटक ८ हजार ८४०, चौथो पटक ३ हजार १२३ र पाँचौ पटक १ हजार १३३ चालकको लाइसेन्समा प्वाल पारिएको थियो । “खारेज गरिएका सवारी चालकले पुनः परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ,” उहाँले भन्नुभयो, “दुर्घटना घटाउन र मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको अभिलेख राख्नका लागि उक्त व्यवस्था गरेका हौँ ।”

आर्थिक वर्ष २०७०/७१ मा ५२, आव २०७१/७२ मा १२२, २०७२/७३ मा १३३, २०७३/७४ मा ४१, २०७४/७५ मा ५८ र चालू आवमा १७ चालकको लाइसेन्स खारेज गरिएको हो ।

 

  • 37Read This News:
  • 406671Total reads:
  • 220000Total visitors: