
भारत, पुस १८ २०७५ । भारतिय चलचित्रका चर्चित अभिनेता कादर खानको क्यानडाको एक अस्पतालमा निधन भएको उहाँका छोरा सरफराज खानले पुष्टि गर्नुभएको छ । प्रसिद्ध अभिनेता पटकथा तथा सम्वाद लेखक खान ८१ वर्षको हुनुहुन्थ्यो ।
उहाँको निधन डिसेम्बर ३१ साझ ६ बजे क्यानडामा भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।
“हाम्रा पिता अब हामीसँग रहनु भएन,” सरफराजले सञ्चारमाध्यमलाई मृत्युबारे जानकारी गराउनु भयो । छोरा सरफराजका अनुसार उहाँको स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो ।
अस्पतालमा उपचाररत उहाँलाई मृत घोषणा गरिनुपूर्व नै केही दिन पहिलेदेखि उहाँको मृत्युबारे सामाजिक सञ्जालमा हल्ला फैलिएका थिए ।
सन् १९७३ मा राजेश खन्नाको चलचित्र दागबाट भारतीय चलचित्र क्षेत्रमा पाइला राखेका कादर खानले ३०० भन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको छ ।
अभिनेता अमिताभ बच्चन र अभिनेत्री रविना टंडनले ट्वीट गर्दै उहाँको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । सन् १९८० र ९० को दशकमा कादर खानले गोविन्दा र अनिल कपूरसँग धेरै चलचित्रमा अधिनय गर्नुभएको थियो ।
उहाँले सन् १९७० को दशकमा संवाद लेखेर र अभिनय गरेर निकै नाम कमाउनु भएको थियो ।
अभिनय क्षेत्रमा प्रवेशपछि उहाँका शुरुवाती दिनहरू निकै संघर्षपूर्ण रहेका उहाँलाई नजिकबाट चिन्ने कलाकारहरूले बताएका छन् ।
खून पसीना, लवारिस, परवरिश, अमर अकबर एन्थनी, नसीब, कुली जस्ता चलचित्रमा उहाँले पटकथासमेत लेख्नुभउको थियो । कादर खानले अमिताभ बच्चनको अभिनय यात्रा अगाडि बढाउन पनि अहम भूमिका खेलेको बताउने गरिन्छ ।
सन् १९८३ मा कादर खानले फिल्म हिम्मतवालाको सम्वाद लेख्नुभयो उहाँको आफ्नो लागि हास्य कलाकारको भूमिका रहेको थियो । त्यसअघि नकारात्मक भूमिकामा देखिने गरेका उहाँले त्यसभन्दा फरक भूमिकामा अभिनय गर्न चाहे पनि त्यो अवसर शुरूमा उहाँलाई जुरेको थिएन । जब कादर खानले चलचित्रको सम्वाद लेख्न शुरु गर्नुभयो उहाँको फरक भूमिकामा अभिनय गर्ने चाहना पनि पूरा भयो ।
यसैबीच प्रसिद्ध अभिनेता कादर खानको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको परिवारजनमा समवेदनाका प्रकट गरिएका सन्देशहरू आउन थालेका छन् ।
खानको निधनप्रति राष्ट्रपति रामनाथ कोविन्दले कादर खानको मृत्युको खवरले आफू निकै दुखी बनेको बताउनुभएको छ । “कादर खान यस धर्तीमा नरहेपनि उहाँका जीवन्त अभिनयले उहाँलाई अमर राख्नेछ,” राष्ट्रपति कोविन्दले ट्वीटरमार्फत जारी गरेको शोक सन्देशमा उल्लेख गर्नुभएको छ । “यस घडीमा कादर खानँप्रति सम्मान प्रकट गर्दै उहाँको परिवार, इष्टमित्र र शुभचिन्तकप्रति समवेदना व्यक्त गर्दछु ।”
यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मानित भारतीय कलाकार कादर खानको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँलाई एक विलक्षण अभिनय सीप भएका, भिन्नै खालका हाँस्य कलाकार तथा कुशल सम्वाद लेखकका रूपमा स्मरण गर्नुभएको छ ।
मोदीले ट्वीटरमा लेख्नुभएको छ, “कादर खानजीले उहाँको अद्वित्तीय अभिनय तथा लेखन शैलीका कारण स्क्रिनलाई उज्ज्वल पानुभएको छ । उहाँको निधनले मलाई दुःखी बनाएको छ । यस घडीमा उहाँको परिवार र प्रशंसकप्रति समवेदना ”
भारतीय सिनेमा जगतका हस्तीहरू अमिताव वच्चन, अनिल कपूर, अनुपम खेर, विक्की कौशल, अर्जुन कपूर, ऋषि कपूर लगायतले कादर खानको निधनपछि उहाँलाई आफ्नो जीवनका विभिन्न चरणमा भएका सम्बन्धहरूलाई स्मरण गरेका छन् ।
अफगानिस्तानको राजधानी काबुलमा सन् १९३५ को अक्टोबर २२ मा जन्मनु भएका उहाँले जीन्दगीको अधिकांश समय भारतीय सिनेमा क्षेत्रमा विताउनुभएको थियो ।