दुई महीनादेखि बन्द रहेको विद्युत् उत्पादन गृह पुनः सञ्चालन

नवलपरासी, ९ पुस २०७५ । विगत दुई महीनादेखि विद्युत् उत्पादन बन्द भएको पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा पुनः विद्युत् उत्पादन शुरु भएको छ ।

गण्डक नहरमा आवश्यकताअनुसार पानी नहुँदा उत्पादन बन्द हुन पुगेको विद्युत् उत्पादन गृहको नहरमा पानी आएपछि पुनः विद्युत् उत्पादन शुरु भएको गृहले जनाएको छ ।

नहरको सरसफाइ र मर्मतसम्भार गर्ने गरी कात्तिक ६ गतेदेखि भारतीय गण्डक नहरमा पानी बन्द गरिएपछि विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादन बन्द हुन पुगेको थियो ।

विद्युत् उत्पादन गृहको स्थापनाकालमा तीन वटा टवाईन जडिन गरी दैनिक १५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको भए पनि विगत दश वर्षदेखि दुई वटा टवाईन पूर्णरूपमा बिग्रिएर थन्किएका छन् ।

नहरमा आवश्यकताअनुसार पानी भएको अवस्थामा लामो समयदेखि एउटा मात्र टवाईन सञ्चालनमा आउने हुँदा क्षमताभन्दा निकै कम करीब ३.५ देखि चार मेगावाट मात्र विद्युत् उत्पादन हुने गर्दछ ।

भारतीय पक्षले प्रत्येक वर्ष एक पटक गण्डक नहरको मर्मतसम्भार र सरसफाइ गर्ने भनेर करीब दुई महीनाका लागि नहरमा पानी बन्द गर्ने गर्दछ । सो अवधिभर विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादन बन्द हुने निश्चित छ । विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादनका लागि कम्तीमा पनि चार हजार क्युसेक पानी आवश्यक पर्दछ ।

नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारको सहयोगमा तयार गरिएको विद्युत् उत्पादन गृहलाई २०३६ सालमा भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

 

  • 21Read This News:
  • 406518Total reads:
  • 219860Total visitors: