
काठमाडौँ, ४ पुस २०७५ । सरकारले गत मध्यराति देखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ ।
नेपाल आयल निगमको मंगलवार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर रु २÷ २ का दरले घटाई समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।
नयाँ मूल्यअनुसार पेट्रोल रु ११० प्रतिलिटर, डिजेल र मट्टीतेल रु ९७ प्रतिलिटर रहेको छ । निगमले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको ‘स्वतः सञ्चालित मूल्य संरचना’ अनुरुप इण्डियन आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्य निर्धारण गरेपछि नेपालमा पनि मूल्य समायोजन गरेको उहाँले जानकारी गराउनुभयो ।
यसैगरी निगमले निगमको डिपो÷बिक्री केन्द्रदेखि १५ किलोमिटर भित्र लागू हुने क्षेत्रभित्र पनि नयाँ मूल्य तोकेको छ । जसअनुसार झापा, विराटनगर, धनुषाको महेन्द्रनगर, वीरगञ्ज, अमलेखगङ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा पेट्रोलको १०८ रुपैंयाँ ५० पैसा, डिजेल र मट्टीतेलको ९५ रुपैंयाँ ५० पैसा तथा पोखरा र दाङका लागि पेट्रोल १०९ रुपैंयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको ९६ रुपैंयाँ ५० पैसा नयाँ मूल्य तोकेको छ ।
निगमले चालू आर्थिक वर्षको केही महीनामा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा पुगि निगमलाई अध्याधिक घाटा भए पनि पछिल्लो १५ दिनमा भने नाफासमेत मिलाउँदा पनि अझै करीब रु ३ अर्ब २६ करोड घाटा भएको उहाँले जानकारी गराउनुभयो ।