जन्मदर बढाउन दक्षिण कोरिया सरकारमाथि चुनौती

दक्षिण कोरिया, ३ पुस २०७५ । दक्षिण कोरियाको राजधानी सियोलको एक औषधि उत्पादक कम्पनीमा मार्केटिङको काम शुरु गर्नुअघि आश्ले पार्कको कलेजको पढाइ निकै राम्रो थियो । अङ्ग्रेजी भाषामा राम्रो दख्खल थियो, र साथीहरुसँगको सम्बन्ध औधी राम्रो थियो । पढाइ सकिएलगत्तै उनले जागिर पनि पाइन् । तर, जसै उनी गर्भवती भइन् कम्पनीले उनको निजी जीवनका यी विविध आयामका बारेमा बिल्कुलै चासो दिएन ।

कम्पनीमा काम गर्न थालेको नौ महिनापछि पार्ककै भनाइमा, “उनीहरुले बच्चा जन्मिएपछि अब तिम्रो काम छैन भने, त्यसैले मैले बाध्य भएर काम छाड्नु प¥यो ।”

उक्त कम्पनीमा काम गर्ने सबै महिला कि त एकल थिए वा बच्चा नभएका । उनी झसङ्ग भइन्, कम्पनीमा काम गर्ने सबै महिलालाई ध्यानपूर्वक हेरिन् । उनीहरुमध्ये अधिकांश ४० वर्षमुनिका मात्रै थिए ।

पार्कको यो एउटा उदाहरण मात्र हो । धेरै कोरियाली महिला आजभोलि किन विवाह गर्न रुचि राख्दैनन् र बच्चा जन्माउन पनि चाहँदैनन् भन्ने पार्कको अनुभवले दर्शाउँछ । पार्कजस्तै आम महिलाले सामना गर्नुपरेका यस्तै समस्याले अहिले अर्को समस्या निम्त्याउन थालेको छ – कोरियाको जन्मदर बर्सेनि अप्रत्यासित रुपमा घट्न थालेको छ, र विश्वमै सबैभन्दा न्यून जन्मदर कोरियामा छ ।

यसै महिनाको शुरुमा कोरियाले जन्मदर घट्न नदिने उपाय घोषणा गरेको छ, तर आलोचकहरुको भनाइमा निकै जटिल स्थितिमा पुगिसकेको जन्मदरको समस्यामा सुधार ल्याउन सरकारी घोषणा अपर्याप्त छ, र नयाँ योजनाले पनि अपेक्षाकृत नतिजा नदिने उनीहरुको ठम्याइ छ ।

धेरैजसो दक्षिण कोरियाली कम्पनीहरु आमाहरुलाई जागिरमा ल्याउन अझैपनि त्यति इच्छुक देखिन्नन् । उनीहरुको विचारमा आमाहरुले कम्पनीले चाहेबमोजिम काम गर्न सक्दैनन् र उनीहरुलाई लामो समयसम्म काममा राख्न सकिन्न । बच्चा जन्मिए कानुनबमोजिम प्रसूति बिदा दिनुपर्ने भएकाले त्यसलाई छल्न उनीहरु आमाहरुलाई सकेसम्म काममा राख्न चासो दिँदैनन् ।

पार्कले जागिर छाड्न शुरुमा अस्वीकार पनि गरिन्, तर हाकिमले निरन्तर उनीमाथि दबाब दिए । उनलाई बिस्तारै कम्पनीका व्यवसाय बैठकमा उपस्थित हुन दिइएन र कार्यालयमा पनि पूरै बेवास्ता गर्न थालियो । त्यही कम्पनीमा कार्यरत आफ्ना पतिलाई व्यवस्थापनले हटाउने धम्कीसमेत दियो ।

करिब छ महिनासम्मको बादबिबाद पश्चात् पार्कले अन्ततः हार मानिन् र राजीनामा दिइन् । अर्को महिना उनकी छोरी जन्मिइन् । त्यसयता उनी घरमै बच्चा हुर्काएर बसिरहेकी छिन् ।

“मैले जागिर पाउनकै लागि धेरै वर्ष त्यतिका मेहेनत गरेर पढें, काम गरें । त्यतिबेला युवा बेरोजगारी निकै माथि थियो, र शुरुआती दिनमा मैले काममा निकै ध्यान पनि दिएँ । आज हेर्नुस् त, मेरो हालत के भयो,” पार्कले बताइन् ।

अहिले २७ वर्षकी पार्कले बच्चा जन्मिएपछि धेरै ठाउँमा कामका लागि आवेदन दिइन् तर बच्चा छ भन्नेबित्तिकै मेरो निवेदन अस्वीकृत हुन्छ । त्यही भएर आजभोलि मैले रोजगारीका लागि निवेदन नै दिन छाडेकी छु, उनले भनिन्, बरु म आफैँले कुनै नयाँ व्यवसाय शुरु गर्ने योजना बनाउँदैछु ।

“सरकारले बढीभन्दा बढी बच्चा जन्माउनु पर्छ भनिरहेको छ, तर कसरी ? यस्तो देशमा जन्मदर कसरी बढ्छ ?” उनले प्रतिप्रश्न गरिन् ।

दक्षिण कोरियाको जन्मदर सन् २०१८ को तेस्रो चौमासिकमा ०.९५ विन्दुले घटेको छ । पहिलो पटक एक विन्दुभन्दा कमले न्यून जन्मदर भएको हो, तर जनसांख्यिक स्थिरता कायम राख्न कोरियामा हाल २.१ विन्दु आवश्यक पर्दछ ।

यो प्रवृत्तिको परिणामस्वरुप विश्वकै ११औं सर्बाधिक बलियो अर्थतन्त्र भएको कोरियामा ५ करोड १० लाख जनसंख्या छ, र यो जनसंख्या सन् २०२८ बाट घट्न थाल्नेछ ।

जन्मदर घट्नुका कारण बारेमा धेरैको विचारमा समानता छ– बालबच्चा हुर्काउन महङ्गो हुँदैछ, युवा बेरोजगारी उच्च छ, कार्यघण्टा लामो छ र दिवासेवाको सुविधा सीमित छ ।

कुनै महिलाले जागिर पाइहाले पनि उनीहरुमा जागिरका साथै परिवारको रेखदेख गर्नुपर्ने दोहोरो दायित्व रहन्छ । दक्षिण कोरियाली समाजमा पितृसत्तात्मक सोच प्रबल रुपमा हाबी छः आमरुपमा झण्डै ८५ प्रतिशत दक्षिण कोरियाली पुरुषहरु महिलाले काम गरुन् भन्ने चाहन्छन्, तर एउटा सर्भेक्षणका अनुसार, आफ्नै पत्नीलाई जागिरमा लगाउनु पर्दछ भन्नेमा सहमति जनाउने पुरुषहरु ४७ प्रतिशत मात्र छन् ।

विवाहित पुरुष र महिलाको रोजगारी दर पनि नाटकीय रुपमा फरक छ अर्थात् ८२ प्रतिशत पुरुष र ५३ प्रतिशत महिला । हालै गरिएको अभिमत सर्भेक्षणमा दक्षिण कोरियाका २०–४० वर्ष उमेरका तीन चौथाई महिला विवाह आवश्यक नरहेको बताएका छन् । तर दक्षिण कोरियामा सबैजसो बालबच्चा बाबुआमाको वैवाहिक सम्बन्धबाटै जन्मिएका छन् ।

यस्तो पृष्ठभूमिमा दक्षिण कोरिया सरकारले जन्मदर बढाउने प्रयत्नका लागि सन् २००५ यता १२ अर्ब १० करोड अमेरिकी डलर खर्च गरिसकेको छ । सरकारले बढीभन्दा बढी युवापिँढीलाई विवाह गर्न र बच्चा जन्माउन जनचेतनामूलक कार्यक्रम मार्फत अनुरोध गरिरहेको छ, तर सफलता प्राप्त भएको छैन ।

यसै महिनाको शुरुमा सरकारले अर्को त्यस्तै नयाँ योजना अघि सारेको छ ।

सरकारले प्रति महिना बाल स्याहार बापत २७० अमेरिकी डलर दिने योजना ल्याएको छ । आठ वर्षभन्दा कम उमेरका बालबच्चा हुने बाबुआमाका लागि जागिरमा तोकिएकोभन्दा दैनिक एक घण्टा कार्यअवधि घटाइएको छ ।

बढीभन्दा बढी दिवासेवा केन्द्रहरु र शिशु केन्द्रहरु खोल्ने सरकारको योजना छ । बच्चा जन्मिएको अवस्थामा पुरुषहरुलाई १० दिनको बिदा दिनुपर्ने नियम ल्याइएको छ । हाल त्यस्तो बिदा तीन दिन उपलब्ध हुन्छ ।

तर अधिकांश यस्ता उपायहरु कानुनी रुपमा बाध्यकारी छैनन् र तोकिएको सुविधा नदिने कम्पनीमाथि कुनै कारबाही हुँदैन । त्यहीकारण, सरकारको घोषणाप्रति आम जनताले खासै महत्व दिएका छैनन् ।

“सरकारको यो नीति हामीले बढी पैसा दियौं भने बच्चा धेरै जन्मिन्छन् भन्ने अति फितलो अनुमानमा आधारित छ,” कोरियाली महिला कामदार संघले जारी गरेको वक्तव्यमा भनिएको छ । “सियोलले कार्यस्थलमा महिलामाथि हुने लगातारका विभेदलाई रोक्नु पर्दछ र महिलाले सामना गर्नुपरेको कामको बोझलाई कम गर्नु पर्दछ ।”

कोरिया टाइम्स अखबारले सरकारको यस्तो फिक्का कदममा तत्काल सुधार गरी महिलालाई विवाह र बच्चा जन्माउनेतर्फ बढीभन्दा बढी उत्प्रेरणा दिन यथार्थपरक किसिमबाट बेलैमा सोच्नु पर्ने बताएको छ । “महिलामाथिका विभेदकारी नियमहरुमा समयमै परिवर्तन नगरिए सरकारले जतिसुकै अनुदान दिएपनि त्यसले महिलालाई खुशीसाथ बच्चा जन्माउने परिस्थिति निर्माण गर्न मुश्किल छ ।”

जुङ हाओन
अनुवादः सोमनाथ लामिछाने

 

  • 26Read This News:
  • 406546Total reads:
  • 219885Total visitors: