हुवाएका कम्पनीका उच्च अधिकारी क्यानाडामा पक्राउ, चीनको विरोध

क्यानाडा, २० मङ्सिर २०७५ । चीनको विशाल दूरसञ्चार कम्पनी हुवाएका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानाडामा पक्राउ गरिएको छ । उनलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानाडाका अधिकारीहरुले बताएका छन् ।

चीनले भने उक्त पक्राउ र दुव्र्यवहारप्रति आपत्ति जनाएको छ ।

मेङ वानझाउ हाल हुवाएकी प्रमुख वित्तीय अधिकृत हुनुहुन्छ । इरानमाथिको अमेरिकी नाकाबन्दीको हुवाएले अवज्ञा गरेको आरोपमा अमेरिकी अधिकारीहरुले अनुसन्धान शुरु गरेको बताइएको छ । अमेरिकी गुप्तचर अधिकारीहरुले हुवाएका गतिविधिमाथि निगरानी गरिरहेको र उक्त कम्पनी राष्ट्रिय सुरक्षाका दृष्टिले खतरापूर्ण रहेको बताउँदै आएका छन् ।

संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापारिक तनाबका सन्दर्भमा तीन महिने युद्धबिराम गरेको केही दिनभित्रै नयाँ विवाद सतहमा आएको छ । दुबै देशका व्यापार मध्यस्थकर्ताहरुमाथि तीन महिनाभित्र असमझदारीहरु हटाउनुपर्ने गहन जिम्मेवारी छ ।

मेङको गिरफ्तारीसँगै एसियाली सेयरबजारमा त्यसको असर देखिएको छ । साङघाइ र हङकङको सेयरबजारमा गिरावट आउनुका साथै प्रविधि क्षेत्रको सेयरमा मन्दी छाएको छ । मध्यान्हसम्म साङघाइ स्टक एक्सचेन्ज १.३ र हङकङ स्टक २.६ प्रतिशतले घटेको छ ।

“चीनले हाम्रो राष्ट्रिय सुरक्षा चासोलाई सुझबुझपूर्ण किसिमले बेवास्ता गरिरहेको छ, र संयुक्तराज्य अमेरिका तथा हाम्रा गठबन्धन राष्ट्रहरुले यस्तो परिस्थितिलाई टुलुटुलु हेरेर बस्न सक्दैनन्,” अमेरिकी सिनेटर बेन सास्सेले बताउनुभयो । उहाँले जारी गर्नुभएको एक वक्तव्यमा भनिएको छ, “कहिलेकाहिँ चिनीया अतिक्रमण पूरै राज्य–प्रबद्र्धित देखिन्छ भने कहिलेकाहिँ चीनका तथाकथित निजी कम्पनीहरुले यो कार्य गरिरहेका छन् ।”

क्यानाडाको न्याय मन्त्रालयले एक वक्तव्यमा मेङलाई भ्यानकुभरबाट डिसेम्बर १ तारिखमा गिरफ्तार गरिएको जनाएको छ । मन्त्रालयले मेङलाई अमेरिका सुपुर्दगी गर्न आग्रह गरेको बताएको छ । मेङका पिता एवं हुवाएका संस्थापक रेन झेङफाई चिनीया जनमुक्ति सेनाका पूर्व इन्जिनियर हुनुहुन्छ ।

ओट्टावास्थित चिनीया राजदूतावासले मेङलाई तत्काल रिहा गर्न आग्रह गरेको छ ।

हुवाएले मेङले कुनै गलत कार्य गरेको बारेमा जानकारी नभएको बताउँदै आरोपका बारेमा ज्यादै कम जानकारी दिइएको बताएको छ ।

कम्पनीले जारी गरेको एक वक्तव्यमा भनिएको छ, “हुवाएले सबै किसिमका कानुनी प्रक्रिया पूरा गरिरहेको छ । राष्ट्रसंघ, अमेरिका र युरोपेली युनियनबाट जारी भएका प्रतिबन्धहरु एवं नियमहरुलाई पूर्ण पालना गरिएको छ ।”

वालस्ट्रिट जर्नलले अप्रिलमा अमेरिकी न्याय विभागले इरानविरुद्ध अमेरिकी प्रतिबन्धलाई हुवाएले उल्लङ्घन गरिरहेको भन्दै छानबिन थालेको समाचार प्रकाशन गरेको थियो ।

 

  • 38Read This News:
  • 458939Total reads:
  • 268484Total visitors: