रोल्पा जिल्ला अदालतमा आठ पुरुषद्वारा सम्बन्धविच्छेदको मुद्दा दर्ता

रोल्पा, १३ मङ्सिर २०७५ । रोल्पा जिल्ला अदालतमा गत भदौ १ गते यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा यस्ता मुद्दा आउन थालेको रोल्पा जिल्ला अदालतले जनाएको छ ।

वैदेशिक रोजगारीबाट पठाएको पैसा दुरुपयोग गरेको, घर व्यवहार राम्रोसँग नचलाएको, लामो समयसम्म माइत बसेको जस्ता आरोपसहित ती पुरुषले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएको बताइएको छ ।

महिलाले मात्रै यस्ता मुद्दा दायर गर्ने गरेकामा पछिल्लो मुलुकी संहिताले पुरुषलाई समेत सम्बन्धविच्छेद गर्न सक्ने बाटो खुला गरेसँगै पुरुषले समेत मुद्दा दर्ता गर्न थालेको उक्त अदालतका तामेलदार डिठ्ठा झक्कुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

महिलाले दायर गर्ने सम्बन्धविच्छेदका मुद्दामा भने मादक पदार्थ सेवन गरी निरन्तर घरेलु हिंसा गरेको, बहुविवाह गरेको, घरमा खानलाउन नदिएको जस्ता आरोप हुने गरेको उहाँको भनाइ थियो ।

जिल्लामा उमेर नपुग्दै विवाह गर्नेहरु उमेर पुगेपछि सम्बन्धविच्छेदका लागि अदालत धाउने महिलाको सङ्ख्या अधिक रहेको उक्त अदालतका मेलमिलापकर्ता तीर्था आचार्यले जानकारी दिनुभयो ।

 

  • 69Read This News:
  • 459516Total reads:
  • 269022Total visitors: