भक्तपुर चारदोवाटोमा भएको सडक दुर्घटनामा तीनको मृत्यु

भक्तपुर, २ मङ्सिर २०७५ । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि चारदोवाटो मूल सडकमा गए राति ११ बजे तीन सवारीसाधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बा २ ख १६५४ नंको मिनीट्रक चालक काभ्रे बनेपा नगरपालिका–४ नाला बस्ने ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र सोही ठाउँ बस्ने २८ वर्षीय सहचालक टार्जन श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

काठमाडौँबाट भक्तपुर जाँदै गरेको बा २ क ३९३५ नंको टिपर र सो भन्दा पछाडि बा २ ख १६५४ नंको मिनीट्रक रोकिराखेको स्थानमा सोही दिशाबाट आउँदै गरेको बा ५ ख ३७६५ नंको काभ्रे काठमाडौँ नगरबसले पछाडिबाट ठक्कर दिँदा मिनीट्रक उछिट्टिएर टिपर पछाडि ठोक्किदा च्यापिएर घाइते भएका मिनीट्रक चालक र सहचालकको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका तीन वटै सवारीसाधन र बसका चालक काभ्रे पनौतीका सुरेश सापकोटालाई प्रहरी नियन्त्रणमा लिएर थप अनुशन्धान अघि बढाएको छ ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिका–३ नमूनाबस्तीमा आज बिहान भएको दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ । बा ४ ख ४२१४ को पानी ट्याङ्करले ठक्कर दिँदा तेह्रथुम घर भई गठ्ठाघर बस्ने ७८ वर्षीय नेत्रप्रसाद पराजुलीको मृत्यु भएको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । ठक्करबाट घाइते पराजुलीको उपचारको क्रममा आज बिहान ८ बजे मृत्यु भएको र ठक्कर दिने ट्याङ्कर चालक भने फरार रहेको उहाँले बताउनुभयो ।

 

  • 20Read This News:
  • 407703Total reads:
  • 220979Total visitors: