सुदूरपश्चिमको पहाडी जिल्लाका विभिन्न मन्दिरमा आजबाट २ दिने मेला तथा जात्रा सुरु

बैतडी, २८ कात्तिक २०७३ । सुदूरपश्चिमको पहाडी जिल्लाका विभिन्न मन्दिरमा आजबाट २ दिने मेला तथा जात्रा सुरु भएको छ । बैतडीको तल्लो स्वराडमा रहेको प्रसिद्ध मेलौली भगवती मन्दिर , राष्ट्रैकै सातौं धाम मानिएको दार्चुलाको मालिकार्जुन मन्दिर, डडेल्धुरामा रहेको उग्रतारा मन्दिर र डोटी जिल्लाको प्रसिद्ध गगुडा लाटामष्टा मन्दिरमा आइतबारदेखि विशेष पूजाआजासहित जात्रा सुरु भएको हो ।

प्रसिद्ध शक्तिपीठका रुपमा रहेको मेलौली भगवती मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा तथा पूजाआजा हुँदै आएको छ ।

सो मेलामा तल्लो सोराड क्षेत्रका बासिन्दाका साथै सीमावर्ती भारतीय जिल्लाबाट आउने दर्शनार्थीले राँगा तथा बोकाको बलिसहित पूजाआजा गर्ने गरेको गरेको स्थानीयवासी वीरेन्द्र महताले जानकारी दिनुभयो ।

यस्तै रौलेश्वरमा रहेको भवानी मन्दिरमा पनि आइतबारदेखि जात्रा सुरु भएको छ । प्रत्येक वर्षको कात्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेला लाग्ने सो मन्दिरमा पनि राँगा तथा बोकाको बलिदिने चलन रहिआएको छ । मेलालाई मर्यादित बनाउनका लागि मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ भने मेलामा चोरी तथा आपराधिक घटना हुननदिन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै राष्ट्रैकै सातौ धाम मानिएको दार्चुलाको मालिकार्जुनमा आइतबारदेखि विशेष पूजाआजासहित मेला सुरु भएको छ ।

रातिको समयमा लाग्ने जात्रामा विभिन्न ठाउँबाट ठूलो सङ्ख्यामा मानिस बाजागाजासहित सहभागी भएको स्थानीयसमाजसेवी पङ्कज धामीले जानकारी दिनुभयो ।

दार्चुलाको मुख्य बाजामा पर्ने दमाहा यो पर्वको मुख्य आकर्षक बन्ने गरेको छ । यी जात्राको ऐतिहासिक एवम् धार्मिक महत्वका साथै आफन्त एवम् इष्टमित्रसँग भेटघाट गर्ने अवसरका रुपमा लिने गरिन्छ । जिल्लामा रहेका विभिन्न मन्दिरमा रात्री जात्रा सुरु भएसँगै जिल्लाका ग्रामीण बस्ती दमाहा बाजाले गुिन्जएका छन् ।

यसैबीच सुरक्षाका लागि भन्दै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीको नेतृत्वमा १५ जनाको टोली मालिकार्जुन प्रस्थान गरेको दार्चुला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।

यस्तै जिल्लास्थित सशस्त्र प्रहरी बल र सीमा सुरक्षा गुल्मले पनि सुरक्षाका लागि मोबाइल गस्ती गर्ने भएको छ । जात्राको समयमा हुनेसक्ने चोरी तस्करीलगायत विभिन्न आपराधिक घटना हुन नदिन खलङ्गादेखि मालिकार्जुनसम्म मोबाइल गस्ती गरिने गुल्मपति दीपेन्द्र कुँवरले जानकारी दिनुभयो ।

 

  • 57Read This News:
  • 473301Total reads:
  • 281820Total visitors: