प्रज्ञा–प्रतिष्ठानद्वारा १०६ कृति प्रकाशन, आधुनिक छापाखाना खरिद गरी प्रयोगमा

काठमाडौँ, १९ भाद्र २०७५ । नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन र इतिहासको अध्ययन अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्दै आएको नेपाल प्रज्ञा प्रतिष्ठानले चार वर्षमा विभिन्न भाषाका १०६ कृति प्रकाशन गरिसकेकोे छ ।

विसं २०१४ मा नेपाली साहित्य कला एकेडेमीका नामले स्थापित प्रतिष्ठानले आफ्ना ११ प्राज्ञिक विभागबाट ती कृति प्रकाशन गरेको हो ।

विसं २०७१ भदौ २० गते गठन भएको प्रतिष्ठानको प्राज्ञ परिषद्ले ‘मैथिली शब्दकोष’, ‘भोजपुरी शब्दकोष’, ‘तामाङ शब्दकोष’, ‘नेपाली डायस्पोराका कविता’, ‘नेपाल प्रज्ञा प्रतिष्ठानको गौरवमय साठी वर्ष’, ‘नेपाली–बृहत् शब्दकोष’को नयाँ संस्करण, ‘नेपाली नारी साहित्यकार परिचय कोष’लगायत विभिन्न भाषामा कृति प्रकाशन गरिसकेको छ । यस्तै प्रतिष्ठानले हाल ४२ कृति छपाइका लागि छापाखानामा पठाएको जनाएको छ ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आफ्नो चार वर्षे कार्यकालमा थोरै बजेटमा पनि नेपाली भाषा र साहित्यको विकासका लागि धेरै काम गरिएको जिकिर गर्नुभयो ।

प्रतिष्ठानले चार वर्षमा १८३ पुस्तकका अध्ययन, अनुसन्धान र अनुवादका साथै २२७ गोष्ठी, सम्मेलन र कार्यशाला आयोजना गरिसकेको छ । यस्तै बयोवृद्ध साहित्यकारका उपचारका लागि प्रतिष्ठानले रू २४ लाख ६ हजार सहयोग प्रदान गर्नाका साथै सहित्यिक पत्रिकालाई रू २२ लाख २ हजार सहयोग उपलब्ध गराएको छ ।

प्रतिष्ठानले २२ साहित्यकारलाई प्रज्ञा पुरस्कार तथा सम्मान र दश साहित्यकारलाई ‘हीरक जयन्ती विशिष्ट प्रतिभा पुरस्कार’ अर्पण गरेको छ । प्रतिष्ठानले चार वर्षको अवधिमा मोदनाथ प्रश्रित, प्रा डा वासुदेव त्रिपाठी, नीरञ्जन (निनु) चापागाई र मञ्जु काँचुलीलाई आजीवन सदस्यता प्रदान गरेको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएको सो प्रतिष्ठान रू १९ करोड ९३ लाखको लागतमा पुनः निर्माण गरिएको छ । सोही अवधिमा नेपाल भारतमैत्री भवन निर्माण भई हस्तान्तरण हुनका साथै सोही भवनमा आधुनिक छापाखाना, पुस्तकालय र सभाकक्ष पनि सञ्चालनमा ल्याइएको छ । रू १० करोड ६८ लाख ७५ हजारको लागतमा आधुनिक छापाखाना खरिद गरी प्रयोगमा ल्याइएकिएको छ ।

प्रतिष्ठानका सदस्यसचिव प्रा डा जीवेन्द्रदेव गिरी चार वर्षको अवधिमा प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषा र साहित्यको विकास र विस्तारका लागि अन्तर्राष्ट्रिय मुलुकसँग सम्बन्ध विस्तार गरिसकेको बताउनुहुन्छ । “बङ्गाल एकेडेमी र पाकिस्तान एकेडेमी अफ लेटर्ससँग प्राज्ञिक आदानप्रदानको सम्झौता भएको छ”, उहाँ भन्नुहुन्छ । प्रतिष्ठानले चाइना फेडेरेशन अफ लिटरेरी एण्ड आर्ट सर्कल र गैरआवासीय नेपाली संघ ९एनआरएनए० सँग सम्झौता नवीकरण पनि गरेको छ ।

कूलपति उप्रेती विभिन्न बाजा, वेशभूषा र ध्वनि चक्का व्यवस्थित गरी सङ्ग्रहालय स्थापना गर्ने, इ–लाइब्रेरी निर्माण गर्नेलगायत काम आफूले गर्न चाहे पनि समय अभावका कारण सम्पन्न गर्न नसकेको बताउनुहुन्छ ।

प्रतिष्ठानले चार वर्षको अवधिमा प्रशासन क्षेत्रमा समेत उल्लेख्य सुधार गरेको छ । कर्मचारी र कलाकारसँग सम्बन्धित नियुक्ति र बढुवाका काम गर्नाका साथै रिक्त दरबन्दीमा पदपूर्ति गरिएको सदस्यसचिव प्रा डा गिरी बताउनुहुन्छ । लेखक÷ साहित्यकार परिचयपत्र वितरण सम्बन्धी कार्यविधि– २०७५ प्राज्ञ परिषद्को बैठकले पारितसमेत गरेको छ ।

 

  • 115Read This News:
  • 459054Total reads:
  • 268598Total visitors: