उपत्यकामा अव हप्तामा ५ दिन दिनको २ घण्टा खानेपानी वितरण गरिने

काठमाडौँ, ३ भाद्र २०७५ । उपत्यकाको खानेपानी वितरण सञ्जालमा दैनिक तीन करोड लिटर पानी थप भएको छ ।

उपत्यकाका ७० हजार धारामा थप पानी जाने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । पानी वितरणको शनिवार  शुरुआत गनुहुँदै सभामुख कृष्णबहादुर महराले पानीको अभावमा रहेका उपत्यकाका बासिन्दाका लागि राहत मिल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “धेरै नागरिक अझै स्वच्छ खानेपानीको पहुँच बाहिर छन् । संविधानको मौलिक हकका रुपमा स्थापित स्वच्छ खानेपानीको अधिकार सुरक्षित गर्न सरकारले ध्यान दिनुपर्छ ।”

खानेपानीमन्त्री विना मगरले यसअघि हप्तामा एक दिन दुई घण्टा पानी वितरण गरिएकामा शनिवारदेखि हप्तामा पाँच दिन दुई घण्टा पानी दिइने प्रतिबद्धता जनाउनुभयो । उहाँले लिमिटेडका २ लाख ७० हजार धारामा पानी दिन पहल गरिने बताउनुभयो ।

मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको पानी प्रशोधन गरी वितरण हुने बताउनुभयो । निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले थपिएको पानीले दैनिक ८ लाख ४० हजार जनता लाभान्वित हुने बताउनुभयो ।

 

  • 40Read This News:
  • 459147Total reads:
  • 268687Total visitors: