‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण समारोह’ मा विभिन्न स्रष्टा सम्मानित

काठमाडौँ, ३ भाद्र २०७५ । साहित्यको माध्यमबाट सामाजिक रुपान्तरणको अभियान सञ्चालन गर्दै आएको साहित्य सन्ध्याले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

साहित्य सन्ध्याले आज यहाँ आयोजना गरेको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण समारोह’ मा वरिष्ठ साहित्यकार प्रा आनन्ददेव भट्टले २०७४ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रगतिशील लेखक तथा सामाजिक अभियान्ता आनन्दराम पौडेललाई प्रदान गर्नुभयो । त्यस्तै आयुर्वेद चिकित्सामा उच्च शिक्षा हासिल गरी प्राध्यापन र आयुर्वेद चिकित्साका क्षेत्रबाट उल्लेख्य योगदान गर्नुभएका प्रा डा देवबहादुर रोकालाई पहिलोपटक ‘साहित्य सन्ध्या–कृवा’ सम्मान प्रदान गरियो ।

डा मदनप्रसाद एवं नर्मदेश्वरी सत्यालद्वारा स्थापित ‘साहित्य सन्ध्या–मन’ पुरस्कार तथा सम्मान विपन्न परिवारमा जन्मेकी काभ्रेकी ११ वर्षीया नेहा तामाङलाई प्रदान गरियो । ‘साहित्य सन्ध्या–मन’ पुरस्कारबाट यसअघि डा लक्ष्मीकान्त मिश्र, सुश्री सुमिना राना मगर, प्रा आनन्ददेव भट्ट, डा काशीराज सुवेदी र सुश्री सविता राना पुरस्कृत भइसक्नुभएको छ ।

‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’बाट जनगायक जेवी टुहुेर र रायन, राजनीतिज्ञ तथा साहित्यकार प्रदीप नेपाल, साहित्यकार तथा पत्रकार कृष्णसेन इच्छुक र श्यामल तथा लेखक हरिगोविन्द लुईंटेललगायत ३५ स्रष्टा सम्मानित तथा पुरस्कृत भइसक्नुभएको छ ।

सो अवसरमा सम्मानित व्यक्तित्व प्रा डा रोकाले यस सम्मानले आयुर्वेद चिकित्सालाई आधुनिक चिकित्साको भरपर्दो विकल्पका रुपमा स्थापित गराउन थप हौसला मिलेको बताउनुभयो । प्रा भट्टले मुलुकको राजनीतिक, सामाजिक अवस्थामा परिवर्तन भए पनि सांस्कृतिक परिवर्तन नहुँदा मुलुक समृद्ध हुन नसकेको बताउनुभयो ।

 

  • 78Read This News:
  • 459146Total reads:
  • 268687Total visitors: