मोदीद्वारा बाढी प्रभावितलाई राहतको घोषणा

भारत, ३ भाद्र २०७५ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावितलाई राहत रकमको घोषणा गर्नुभएको छ ।

प्रभावित क्षेत्रको स्थलगत अवलोकन पश्चात प्रधानमन्त्री मोदीले निधन भएकाको परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाको दरले राहत रकम दिने घोषणा गर्नुभएको हो ।

उहाँले बाढी पहिरोमा परी घाइते भएकालाई उपचारका लागि ५० हजार भारु उपलब्ध गराउने पनि बताउनुभएको छ ।

उनीहरुलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषमार्फत् रकम उपलब्ध गराउने व्यवस्था गरिएको मोदीको भनाइ छ ।

प्रधानमन्त्री मोदीले केरलाका लागि पाँच सय करोड सहायता रकमको घोषणा यसअघि नै गरिसक्नु भएको थियो ।

केरलाका मुख्यमन्त्री पिनारायी भिजायनलगायतका उच्च पदस्थ व्यक्तिसँगको समिक्षा बैठकमा प्रधानमन्त्री मोदीले आफ्नोतर्फबाट सो सहायता रकम दिने घोषणा गर्नुभएको हो ।

केरलाका केही जिल्लामा परेको अबिरल वर्षापछिको बाढी र पहिरोको कारण कम्तीमा तीन सयभन्दा बढीको मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।

शताब्दीकै खराब भनिएको बाढीका कारण केरलाका १३ ओटा जिल्ला अझै पनि खतराको स्थितिमा रहेको अधिकारीले जानकारी दिएका छन् ।

उद्धारका लागि सैनिक, नौसेना, तटीय गार्डलगायत थप मानवीय शक्ति र हेलिकोप्टरको पनि बन्दोबस्त गरिएको उनीहरुको भनाइ छ । उद्धारकर्ताले स्थानीय बासिन्दालाई जोगाउनका लागि मुसलधारे पानीको सामना गरिरहेका छन् ।

बाढी पहिरोका कारण केरला राज्यमा अहिलेसम्म दुई लाख मानिस आफ्नो घर छोडेर शिविरमा बसिरहेका छन् ।

एएफपी समाचार संस्थाका अनुसार उद्धार प्रयासमा सघाउन तीन सयभन्दा बढी डुङ्गा पनि त्यहाँ प्रयोग गरिएका छन् ।

भारतको गृह मन्त्रालयले दिएको जानकारीअनुसार यस बर्षको बर्षायाम सुरु भएदेखि अहिले सम्म देशभर नौ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

 

  • 36Read This News:
  • 459199Total reads:
  • 268730Total visitors: