काठमाडौँ, १ भाद्र २०७५ । कवि गोविन्द नेपालको तेस्रो कृति ‘तर्कको साम्राज्य’ कवितासंग्रह विहिवार काठमाण्डौमा विमोचन गरिएको छ ।
४३ लामा छोटा कविता समाविष्ट सङ्ग्रहका कविता आफन्तहरुसँगको सम्बन्ध, प्रेम, सामाजिक सञ्जालप्रतिको मोह, निम्नवर्गप्रतिको सहानुभूति आदि भावका छन् । यसअघि उहाँको ‘ढुङ्गाको मन’ गजलसङ्ग्रह(२०५५) र ‘अक्षर खेल्ने आँगन’( कवितासङ्ग्रह २०६३) प्रकाशित छन् ।
अभिनव साहित्य समाजद्वारा आयोजित कार्यक्रममा साहित्यकार शैलेन्द्र साकारले प्रकृतिको अनुकरण जीवन र जीवनको अनुकरण साहित्य भएको बताउँदै कविता भने जीवनजत्तिकै प्यारो छ भन्नुभयो ।
समीक्षक महेश पौडेलले वर्तमानलाई कवितामा निकै गहिरोसँग नियालेका कवि नेपालले कविता लेखनमा जोखिमी पनि छ भन्ने कुरा बिर्सेको बताउनुभयो ।
समाजका अध्यक्ष गोविन्द वेदमणिले समाजका विभिन्न समस्या साहित्यकारले देखाउने तर समाधान नदेखाउने भनेर राजनीतिकर्मीले आरोप लगाउने गरेको बताउँदै लेखकले साहित्यका माध्यमबाट समाधान पनि दिनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा समाजका आजीवन सदस्य मञ्जुश्री प्रधान, साहित्यकार भीष्म उप्रेती, प्रोल्लास सिन्धुलीय, प्रकाश गफाडीलगायतले कविले छोटा र जीवन छुने प्रभावकारी कविता सिर्जना गरेको बताउनुभयो ।
कवि नेपालले आफ्नो ५० औँ वर्षको सन्दर्भमा उक्त कृति प्रकाशन गरेको जानकारी दिनुभयो ।


