बेलायत, चैत २३ २०७४ । कार्यक्षेत्रमा महिलाप्रति गरिएको विभेद रहेको पुष्टि गर्दै बेलायतमा सञ्चालनमा रहेका हरेक १० व्यवसायिक फर्म तथा सार्वजनिक क्षेत्रमा कार्यरत निकायमध्ये झण्डै ८ कम्पनीले महिलालाईभन्दा पुरूषलाई बढी पारिश्रमिक दिने गरेको बिहीबार सार्वजनिक एक तथ्याङ्कले खुलासा गरेको छ ।
कुनैपनि कम्पनी वा फर्म जसमा २५० भन्दा बढी कामदार रहेका छन् तिनीहरूमा पारिश्रमिकमा लैङ्गिक विभेद छ वा छैन पुिष्ट हुनेगरी ‘सरकारी समरूपता कार्यालय’मा विवरण बुझाउनुपर्ने कानून प्रधानमन्त्रीको पहलमा ल्याइएको थियो ।
यसै कानून अनुसार बुधबार मध्यरातसम्म १० हजार १५ व्यवसायिक कम्पनीले तथ्याङ्क उपलब्ध गराएका छन् । तथ्याङ्क नबुझाएका कम्पनी तथा फर्मलाई कानून अनुसार कारबाही गरिने उक्त कार्यालयले जनाएको छ ।
प्राप्त तथ्याङ्क अनुसार झण्डै ७८ प्रतिशत व्यवसायिक फर्म तथा कम्पनी तथा सार्वजनिक क्षेत्रमा कार्यरत संस्थाले महिला कामदारलाई भन्दा पुरुष कामदारलाई बढी पारिश्रमिक दिने गरेको पाइएको हो ।
यद्यपि १४ प्रतिशतले भने पुरुषलाईभन्दा महिलालाई बढी पारिश्रमिक दिने गरेको प्रतिक्रिया दिएका र आठ प्रतिशतले पारिश्रमिक दिँदा कुनै लैङ्गिक विभेद नगरेको जनाएका छन् ।
तथ्याङ्क अनुसार औषतमा महिला र पुरुषबीचको पारिश्रमिकमा १२ प्रतिशतको फरक पाइएको छ ।
प्रधानमन्त्री मेले यसै हप्ता पारिश्रमिकमा रहेको लैङ्गिक विभेदलाई अन्त्य गरिने बताउनुभएको थियो । बेलायतको इतिहासमा मार्गरेट थ्याचरपछि अर्थात् दोस्रो महिला प्रधानमन्त्रीका रूपमा कार्यरत मेले पारिश्रमिकमा गरिने असमानतालाई हटाउन चाहनुभएको देखिन्छ ।


