प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि मतपत्र छपाइको परीक्षण शुरु

काठमाडौँ, १८ असोज २०७४ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक तर्फको नमूना मतपत्र छपाइ कार्य शुरु भएको छ ।

निर्वाचन आयोगले उक्त मतपत्रको छपाइ कार्यको जिम्मा जनकशिक्षा सामग्री केन्द्र लिमिटेडलाई दिएको छ ।

यसैबीच, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र आयुक्त नरेन्द्र दाहालले सानोठिमीस्थित जनकशिक्षा समाग्री केन्द्र पुगेर मतपत्र छपाइ गर्ने प्रेसको अवस्था र सुरक्षा व्यवस्थापनको योजना लगायतका बारेमा जानकारी लिनुभयो ।

उक्त केन्द्रको अवलोकनपछि पत्रकारसँग कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले मतपत्र छाप्ने सबै प्रेसको सरसफाइ चुस्त–दुरुस्त रहेको जनाउँदै आजैबाट मतपत्र छपाइको परीक्षण शुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयोगले समानुपातिक निर्वाचनको मतपत्र असोज १७ गतेबाट छाप्ने कार्ययोजना बनाएको थियो, त्यो अनुसार नै काम अघि बढेको छ ।”

सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा एकै पटक गर्ने निर्णय यसअघि नै गरेको छ । पहिलो चरणमा हिमाली र पहाडी जिल्ला तथा दोस्रो चरणमा पहाडी र तराईको जिल्लामा निर्वाचन हुनेछ । उक्त निर्वाचनका लागि १ करोड ५४ लाख २७ हजार ७३१ मतदाता कायम भएको आयोगले जनाएको छ ।

 

  • 27Read This News:
  • 417514Total reads:
  • 230270Total visitors: