मेलम्चीको पानीका लागि उपत्यकामा ५८५ किमी पाइप बिच्छ्याइयो

काठमाडौँ, २६ जेठ २०७४ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ ।

उपत्यकावासीलाई असोजभित्र खानेपानी खुवाउने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ । उपत्यकाभित्र पानी पुर्याउनका लागि ६७० किलोमिटर पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म ५८५ किमी क्षेत्रमा पाइप बिच्छ्याइसकिएको मेलम्ची खानेपानी आयोजना–२, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रमुख तिरेश खत्रीले जानकारी दिनुभयो ।

मेलम्चीबाट सुरुङ हुँदै सुन्दरीजल आउने पानी सुन्दरीजलमा प्रशोधन भइसकेपछि उपत्यकाका विभिन्न ११ ट्याङ्कीबाट नागरिकको घर घरमा पुयाइने व्यवस्था मिलाइएको छ ।

आरुबारी, महाङ्काल चौर, पानीपोखरी, बाँसबारी, बालाजु, खुमलटार, कटुन्जे, कीर्तिपुर र ठिमीमा नयाँ ट्याङ्की तथा अनामनगर र मीनभवनमा रहेको पुरानो ट्याङ्कीबाट पानी वितरण गरिनेछ । नयाँ बन्न लागेका ९ वटा ट्याङ्की तथा पुराना दुईवटा ट्याङ्कीमा पानी पुर्याउन ६१ किमी पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म ४९ किमी पाइप बिच्छ्याइएको प्रमुख खत्रीले बताउनुभयो ।

नयाँ बन्न लागेका ९ वटा ट्याङ्कीमध्ये ५ वटा निर्माण सम्पन्न भएका, ३ वटाको २० प्रतिशत काम भएको र एउटा ट्याङ्कीको निर्माण कार्य असारदेखि सुरु हुने आयोजनाले जनाएको छ ।

 

  • 98Read This News:
  • 459195Total reads:
  • 268727Total visitors: