जोगमाई खोलाबाट ७.५ मेगावाट विद्युत् उत्पादन

इलाम, ३ वैशाख २०७४। नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोगमाई खोलाबाट उत्पादित ७.५ मेगावाट बिजुली थप भएको छ ।

निजी क्षेत्रद्वारा प्रवद्र्धित सान्भी इनर्जीले इलामको नामसालिङ र नयाँबजार गाविसमा पर्ने जोगमाई खोलाबाट विद्युत् उत्पादन सुरु गरेको हो ।

“प्राधिकरणका प्राविधिकहरूको रोहवरमा विद्युत्गृहको सफल परीक्षणपछि परीक्षण विद्युत् उत्पादन सुरु भएको हो” – सान्भी इनर्जीका प्रबन्ध निर्देशक भानु पोखरेलले भन्नुभयो ।

पोखरेलका अनुसार हाल उत्पादित विद्युत् प्राधिकरणको गोदकस्थित १३२ र ३३ केभी सवस्टेसनमा आपूर्ति भएको छ । उक्त विद्युत्गृहले वार्षिक रूपमा ४३ लाख युनिट बिजुली उत्पादन गर्छ । आयोजनाले उत्पादन गरेको सबै बिजुली विद्युत गृह देखि काबेली करिडोरअन्तर्गत ३३ केभी प्रसारण लाइनमार्फत गोदकस्थित सवस्टेसनमा पुर्याइएको छ ।

आयोजनाले ३० वर्षका लागि प्राधिकरणसँग बर्खायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदयाममा प्रतियुनिट ८ रूपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । पिपिएअनुसार व्यापारिक उत्पादन भएको मितिदेखि ५ वर्षसम्मका लागि वार्षिक ३ प्रतिशत मूल्य वृद्धि हुनेछ ।

आयोजना पूरा हुन २७ महिना लागेको थियो । रु १ अर्ब ५० करोडको लागतमा आयोजना सम्पन्न भएको प्रबन्ध निर्देशक पोखरेलले बताउनुभयो । आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा प्रभु बैंक, विभोर सोसाइटी बैंक र कैलाश विकास बैंकले लगानी गरेका छन् ।

यस आयोजनामा अन्तर्राष्ट्रियस्तरमा जडित उपकरण छन् र कतिपय इलेक्ट्रो मेकानिकल उपकरणहरू पहिलोपटक नेपालमा भित्र्याइएका छन् ।

 

  • 30Read This News:
  • 450990Total reads:
  • 262295Total visitors: