डेरी उद्योगबाट मासिक एक लाख आम्दानी

तेह्रथुम, १८ फागुन २०७३ । श्रम गरे आफ्नै गाउँठाउँमा बसेरै मनग्य कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बनेकाछन् हमरजुङ– ७ का ४७ वर्षीय अमरकृष्ण बस्नेत ।

६ वर्ष मलेसिया बस्दा उनले निकै दुःख पाएको थियो । घर जग्गा धितो राखेर उनी विदेश गएकाथिए ।

विदेश गर्ने दुःख स्वदेशमै गरे त्यहाँ भन्दा राम्रो कमाइ गर्न सकिने भएर मलेसियाबाट फर्केपछि उनले गाउँमै दुग्ध परिकार उद्योग खोलेकाछन् ।

सुरुमा ४ जना साथीसँग मिलेर खोलेको सो उद्योग एक वर्षदेखि आफ्नै एकलौटी बनाएर चलाइरहेको छ । बस्नेतको दुग्ध परिकार उद्योगमा हाल छुर्पी, नौनी, र पनिर उत्पादन हुन्छ । उद्योगबाट मासिक करिब ७ क्विन्टल छुर्पी, ४ सय किलो नौनी उत्पादन हुने गरेको उनले बताए ।

उत्पादित छुर्पी इटहरीहुँदै काठमाडौँ तथा अमेरिकामा समेत निर्यात गरिन्छ । नौनी ऊर्लाबारी, विराटनगर, धरानलगायत सहरमा खपत हुन्छ ।

हाल बस्नेतले छुर्पी घरैबाट प्रतिकिलो रु ८५० र नौनी प्रतिकिलो रु ५ सयमा बिक्री गर्छन । उद्योगबाट मासिक रु १० लाख सम्मको कारोबार हुने गरेको उहाँले बताउनुभयो । सबै खर्च कटाएर रु एक लाखसम्म बचत हुन्छ ।

प्रतिलिटर रु ४५ मा उहाँले दूध खरिद गर्नुहुन्छ । उद्योगमा दैनिक ६ सय लिटरसम्म दूध खपत हुन्छ । रु ७ लाख लगानी रहेको सो उद्योगमा दूध उमाल्ने, फटाउने, छान्ने, मेसिनमा पेल्ने, क्रिम काट्ने, आगोमा सुकाउने, काटेर टुक्रा पार्नेलगायतका काममा चार जनालाई रोजगारी समेत मिलेको छ ।

 

  • 38Read This News:
  • 448928Total reads:
  • 260395Total visitors: