तीन व्याङ्ग्यचित्रकारलाई ‘बराथा स्मृति सम्मान

काठमाडौँ, ८ चैत २०७५ । नेपाल कार्टुनिष्ट क्लबले तीन व्याङ्ग्यचित्रकार (कार्टुनिष्ट)लाई ‘बराथा स्मृति सम्मान’ र प्रदान गरेको छ ।

कार्टुनमार्फत समाजमा पुर्याएको योगदानको मूल्यङ्कन गर्दै बिहिवार राजधानीमा आयोजित ‘बराथा स्मृति सम्मान तथा स्वर्ण कुचिकलम समर्पण’ समारोहमा कार्टुनिष्टत्रय दुर्गाप्रसाद बराल ‘वात्सायान’, मोहनश्याम महर्जन र धीरेनकुमार दाहाल ‘डिकेड’लाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

उहाँहरुलाई संस्कृतिविद् सत्यमोहन जोशीले सम्मान प्रदान गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्याल, प्राध्यापक रामकुमार पाँडे, अशोकमान सिङ, नारदमणि हार्तम्छालीसहित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वासुदेव–विद्यादेव लुइँटेल गुठी, कामना मासिक प्रकाशनलाई ‘स्वर्ण कुचिकलम अवार्ड’ प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृतिविद् जोशीले राणाकालमा समेत गाइजात्राका बेलामा कार्टुन बनाउन छुट भएको प्रसङ्ग उल्लेख गर्दै समाजमा हास्यव्याङ्ग्य कलाले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

उहाँले मुलुक आर्थिक समृद्धिको नारासहित अगाडि बढिरहेका बेला जलविद्युत् आयोजना निर्माण गरेर मात्रै नहुने भन्दै कला र संस्कृतिका माध्यामबाट पनि देश समृद्ध पार्न सकिने उल्लेख गर्नुभयो ।

नेपाल कार्टुनिष्ट क्लबका अध्यक्ष अविन श्रेष्ठले विगतमा अग्रजले दिएको योगदानलाई सम्झनका लागि बलराम थापा (बराथा)को स्मृतिमा सम्मान गर्ने परम्परा शुरु गरेको उल्लेख गर्नुभयो । उहाँले ललितकला प्रज्ञा–प्रतिष्ठानलाई कार्टुनको सङ्ग्रहालय स्थापना गर्न आग्रह गर्नुभयो ।

बराथा गोरखापत्रका पुराना कार्टुनिष्ट हुनुहुन्थ्यो । विसं २०७० देखि शुरु भएको सम्मान कार्यक्रमअन्तर्गत यसअघि गोवद्र्धनविक्रम शाह र शशिविक्रम शाह सम्मानित भइसक्नुभएको छ ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, स्वर्ण कुचिकलम पाउनेमध्येबाट डा अर्याल, सम्मानितका तर्फबाट वात्सायान, क्लबका सचिव योगेशकुमार खपाङ्गी, महासचिव देवेन्द्र थुम्केली तथा केशवराज खनालले कार्टुन विधाको विषयमा आफ्ना भनाइ राख्नुभएको थियो ।

रासस

 

  • 110Read This News:
  • 480251Total reads:
  • 287733Total visitors: