नवौँ अन्तर्राष्ट्रिय अर्थोपेडिक सम्मेलन सम्पन्न

कास्की, ९ पुस २०७५ । अर्थोडेन्टिक एशोसिएशन गण्डकीद्वारा आयोजित नवौँ अन्तर्राष्ट्रिय अर्थोडेन्टिक तथा डेन्टोफेसियल अर्थोपेडिक सम्मेलन आइतबार यहाँ सम्पन्न भएको छ ।

कार्यक्रममा अर्थोडेन्टिक विषयमा हाल विश्वमा प्रयोग भएका, यसअघि प्रयोग गरिएका विषयसँगै यसका सम्बन्धमा भएका नयाँ उपचार विधिसँगै अन्य विषयमा केन्द्रित रहेर तयार पारिएको विभिन्न ७० कार्यपत्र प्रस्तुत गरिएको थियो ।

सम्मेलनमा सहभागीलाई लक्षित गर्दै अर्थोडेन्टिकसँग सम्बन्धित रहेर गण्डकी मेडिकल कलेजमा प्रयोगात्मक कक्षासमेत सञ्चालन गरिएको सम्मेलन आयोजक समितिका सचिव डा उमेश पराजुलीले जानकारी दिनुभयो ।

कार्यक्रममा एशिया प्यासिफिक अर्थोडेन्टिक सोसाइटीका अध्यक्ष प्रो जाउ, अर्थोडेन्टिक एवं अर्थोपेडिक सेसाइटी ताइवानका अध्यक्ष प्रो जोनसन, अर्थोडेन्टिक एशोसिएशन नेपालका अध्यक्ष प्रा डा रवीन्द्रमान श्रेष्ठ, कार्यक्रम संयोजक डा अञ्जना कर्माचार्य, डा विमल पन्थीलगायतले सम्बन्धित विषयका विभिन्न आयाममाथि प्रकाश पार्नुभएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा वुद्धिबहादुर थापाले सम्मेलनले विभिन्न देशमा हुँदै आएको उपचार पद्धतिसँगै आफ्नो क्षेत्रमा हासिल गरेको अनुभव साटासाट गर्न सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौँ बाहिर पहिलोपटक पोखरामा आयोजना भएको दुई दिने सम्मेलनमा नेपाललगायत चीन, ताइवान, जापानलगायतका विभिन्न देशका १५० सम्बन्धित विषयका विज्ञ चिकित्सकको सहभागिता रहेको थियो ।

 

  • 20Read This News:
  • 406518Total reads:
  • 219860Total visitors: