पिपिआर रोगविरुद्धको सुई दिने कार्य शुरु

पर्सा, २१ जेठ २०७५ । पशु स्वास्थ्य निर्देशनालयको वार्षिक कार्यक्रमअन्तर्गत खसीबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको सुई दिने कार्य पर्सा जिल्लामा शुरु भएको छ ।

जिल्लामा बढी बाख्रापालन हुने क्षेत्रलाई प्राथमिकतामा राखी ९० हजार खसीबाख्रालाई पिपिआर रोगविरुद्धको सुई लगाउने कार्य शुरु भएको जिल्ला पशुसेवा कार्यालय पर्साले जनाएको छ ।

पिपिआर रोग लागेपछि ८० प्रतिशत खसीबाख्रा मर्ने सम्भावना बढेकाले रोग लाग्नुभन्दा रोग लाग्न नदिने उद्देश्यले प्रत्येक वर्षझै यस वर्ष पनि पर्सा जिल्लामा यो कार्यक्रम सञ्चालन गरिएको प्रमुख डा रामपरीक्षण साहले बताउनुभयो ।

खसीबाख्रामा यो रोग लागेपछि ज्वरो आउने, मुखबाट ¥याल चुहिने, गिजामा खटिरा आउने, पखाला लाग्नेजस्ता लक्षण देखा पर्ने पिपिआर रोग भाइरसबाट सर्ने एक प्रकारको सरुवा रोग भएको पशु चिकित्सकले बताएका छन् ।

बाहिर खसीबाख्रा ओसारपोसार गर्दा यो रोग अन्य पशुमा सर्ने सम्भावना बढी हुने जनाइएको छ । बढी गर्मी हुने ठाउँमा यो रोगको सम्भावना अत्यधिक भएकाले रोकथामका उपाय अपनाइएको छ ।

यसैबीच गाईभैँसीमा लाग्ने भ्यागुते तथा चरचरे रोगविरुद्धको सुई दिने कार्यक्रम सञ्चालन गरिएको छ । सो कार्यक्रमअन्तर्गत २५ हजार गाइभैँसीमा भ्यागुते तथा चरचरे रोगविरुद्धको सुई दिने लक्ष्यअनुरुप सो कार्यक्रमसमेत सञ्चालन गरिएको जिल्ला पशुसेवा कार्यालय पर्साले जनाएको छ ।

 

  • 37Read This News:
  • 480664Total reads:
  • 288125Total visitors: