उद्योगमा औद्योगिक सुरक्षा स्टिकर, आपतकालिन अवस्थामा सशस्त्र प्रहरी वललाइ खवर गर्ने

चितवन, २५ फागुन २०७४ । उद्योगको सुरक्षा र औद्योगिक वातावरणका लागि सुरक्षा स्टिकर टाँस्न शुरु गरिएको छ ।

चितवन उद्योग संघले उद्योगको सुरक्षाका लागि सशस्त्र प्रहरीसँगको सहकार्यमा चितवन र नवलपुरका ठूला उद्योगमा औद्योगिक सुरक्षा स्टिकर टाँस्ने अभियान शुरु गरेको हो ।

बिहीबार रत्ननगरबाट शुरु भएको सो अभियानअन्तर्गत आज भरतपुर महानगरपालिकाका विभिन्न उद्योगमा स्टिकर टाँसिएको छ । आज एक कार्यक्रमकाबीच भरतपुर महानगपालिकाकी प्रमुख रेणु दाहालले बोटलर्स नेपाल तराई लिमिटेड भरतपुरको उद्योगमा स्टिकर टाँसेर महानगरका उद्योगमा स्टिकर टाँस्ने अभियानको शुभारम्भ गर्नुभयो ।

नगर प्रमुख दाहालले महानगरभित्र निर्वाद रुपमा उद्योगधन्दा सञ्चालन गर्ने वातावरण निर्माण गरिने बताउनुभयो । बन्द, हडताल र आन्दोलनका कारण निर्वाद रुपमा सञ्चालन हुननसकेका उद्योग, कलकारखाना फस्टाउन नसकेको उहाँको भनाइ छ ।

यस्तै, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारीका प्रहरी उपरीक्षक सुवर्ण थापाले राज्यले उद्योग कलकारखानाको सुरक्षाको जिम्मा दिएकाले त्यो जिम्मेवार पूरा गर्न तयार रहेको बताउनुभयो । आगामी दिनमा सुरक्षा व्यवस्था अझै चुस्त पारिने उहाँले प्रतिबद्धता जनाउनुभयो । जनशक्ति कम भए पनि औद्योगिक सुरक्षामा प्रतिबद्ध भएर लाग्ने थापा बताउनुहुनछ ।

उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडीले पहिलो चरणअन्तर्गत चितवन र नवलपुरका करिब पाँच सय ठूला उद्योगमा स्टिकर टाँसिने बताउनुभयो । ठूला उद्योगमा स्टिकर टाँसेपछि साना–ठूला सबै उद्योग तथा कारखानामा स्टिकर टाँस्ने योजना छ । बिहीबार मात्रै पूर्वी चितवनका ३२ वटा ठूला उद्योगमा स्टिकर टाँसिएको छ । स्टिकरमा ‘सेवा, सुरक्षा सहयोग र उद्धारका लागि सशस्त्र प्रहरी बल’ नारा लेखिएको छ । विभिन्न क्षेत्रका सशस्त्र प्रहरी बलको फोन नम्बरसमेत त्यसमा राखिएको छ ।

विपत् व्यवस्थापन तालीम केन्द्र कुरिनटार, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भण्डारा, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय नवलपरासी, औद्योगिक सुरक्षा बेस दलदले, सुरक्षा बेस मुकुन्दपुरको फोन नम्बर स्टिकरमा उल्लेख गरिएको छ । कुनै पनि उद्योगमा समस्या आएमा तत्काल सशस्त्र प्रहरीलाई खबर गर्न सकिने छ ।

 

  • 40Read This News:
  • 480703Total reads:
  • 288162Total visitors: