एसियन कोचेज कन्फ्रेन्समा सहभागी हुन लनटनिस प्रशिक्षक वज्राचार्य चीन प्रस्थान

काठमाडौँ, १२ कात्तिक २०७३ । एसियन कोचेज कन्फ्रेन्समा सहभागी हुन नेपाली लनटेनिस प्रशिक्षक सूर्यभूषण वज्राचार्य विहिवार चीनको गोन्झाव प्रस्थान गर्नुभएको छ । यही कात्तिक १२ देखि १६ गतेसम्म हुने कन्फ्रेन्समा एसियाली क्षेत्रमा लनटेनिसको विकास, यु–१२ र यु–१४ उमेर समूहका खेलाडीको स्तरवृद्धि र सामूहिक खेललाई कसरी मजबुत बनाउने भन्ने विषयमा ज्ञान दिइने प्रशिक्षक वज्राचार्यले जानकारी दिनुभयो । टेक्निकल, ट्याक्टिकल, ड्रिल, फिजिकल ट्रेनिङ लगायत विषयमा पनि जानकारी दिइनेछ ।

कन्फ्रेन्समा लेभल–२ श्रेणीदेखि माथिका प्रशिक्षक मात्र सहभागी हुन पाउनेछन् । नेपालमा वज्राचार्यसहित तीन जना मात्र लेभल–२ प्रशिक्षक छन् । बाँकी दुईमा कृष्णराज घले र शरद् लामा हुन् ।

अन्तर्राष्ट्रिय टेनिस महासङ्घ, एसियाली टेनिस महासङ्घ र चीन टेनिस सङ्घको संयुक्त आयोजनामा हुन लागेको कन्फ्रेन्स बेलायतका सिमोन जोन्स, अस्ट्रेलियाका माइकल रोबर्टसन तथा आइटिएफका मिगुल क्रेस्पो र सुरेश मेननले सञ्चालन गर्नेछन् ।

चीनबाट फर्केपछि कन्फ्रेन्सबाट आफूले सिकेको ज्ञानलाई बाँड्ने उद्देश्यले लनटेनिस सङ्घको सहयोगमा दुईहप्ते निःशुल्क क्याम्प सञ्चालन गरिने प्रशिक्षक वज्राचार्यले जानकारी गराउनुभयो ।

 

  • 18Read This News:
  • 0Visitors currently online: