काठमाडौँ, ५ मंसिर २०७४ । क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले सोमवार स्वर्ण पदक जितेकी छिन् ।
क्यानडास्थित टोरन्टो शहरमा भएको ५७ केजी तौल समूहको फाइनल खेलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्णपदक हात पारेकी हुन् । त्यसअघि बाइ पाउँदै यानकुमारी फाइनलमा प्रवेश गरेकी थिइन् ।
नेपालबाट भाग लिने अन्य दुई महिला खेलाडी भने पदकविहीन रहे । टोरन्टोस्थित भेराइटी भिलेज एथलेटिक सेन्टरमा भएको खेलमा ज्ञानी चुनरा र रेजिना कार्की पहिलो चरणमै पराजित भए ।
महिला ४९ केजीमा रेजिना (क्यानाडा) तथा ६२ केजी मुनि ज्ञानी (क्युवा)का खेलाडीसँग पराजित भएका हुन् । उक्त च्याम्पियनसिपमा करिब १ हजार १७५ खेलाडीले प्रतिस्पर्धा गरेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जानकारी दिएको छ ।


