उचित मुल्य नपाएपछि जिल्लाकै चिया वगान जंगलमा परिणत

पाँचथर, ५ मंसिर २०७४ । एक नगरपालिका र ७ वटा गाउँपालिकामा चिया खेती गर्दै आएका १ हजार १०० कृषक उचित मूल्य नपाउँदा मारमा परेका छन् ।

१० हजार ३सय २३ रोपनी क्षेत्रफलमा लगाएको चिया खेतीमा परेको मेहनत र पसिनाको उचित मूल्य नतोकिँदा मर्कामा परेको कृषकले गुनासो गरेका छन् ।

कृषि विकास मन्त्रालयअन्तर्गतको उच्च मूल्य कृषि वस्तु विकास आयोजना (एचभिएपी)को वेभसाइडमा ग्रामीण जनताको जीविकोपार्जनमा प्रभाव पार्ने स्याउ, अदुवा, बेसार, खसीबोकाजस्ता ७ वस्तुलाई मूल्य शृङ्खलामा छनौट गरिएको वस्तुको सूचीमा राखिएको छ । तर चियाको भने हालसम्म मूल्य शृङ्खला बनेको छैन ।

मूल्य शृङ्खला नबन्दा टि–स्टेटले आफूखुसी तोकेको मूल्यमा कृषक चियाको हरियो पत्ती बेच्न बाध्य छन् । उनीहरु थप चिया खेती विस्तारका लागि उत्साहित नदेखिएको केन्द्रीय चिया सहकारी संघ (सिटिसिएफ) का उपाध्यक्ष राजेन्द्रकुमार जवेगु बताउनुहुन्छ ।

जिल्लाका अधिकांश चिया कृषकको माग मूल्य शृङ्खला बन्नुपर्ने रहेको फाल्गुनन्द गाउँपालिका–३, पौवाका महेन्द्रकुमार चेम्जोङ बताउनुहुन्छ ।

मुलुकमै पहिलो अग्र्यानिक चिया प्रशोधन कारखानाको प्रमाणपत्र पाएको फिदिमको कञ्चनजंघा टि–स्टेट एण्ड रिसर्च सेन्टर प्रालिले वार्षिक ६० हजार हरियो पत्ती साना कृषकबाट लिँदै आएको छ । पहिलो ग्रेडको हरियो पत्तीको प्रतिकिलो रु ७५ र दोस्रो ग्रेडको हरियो पत्तीको प्रतिकिलो रु ५२ मूल्य दिँदै आएको प्रालिका प्रबन्धक निरानन्द आचार्यले बताउनुभयो ।

कञ्चनजंघा टि–स्टेट जिल्लाकै ठूलो चिया प्रशोधन कारखाना हो । यहाँ उत्पादित ‘ए’ ग्रेडको चिया युरोपलगायत अन्य तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । जिल्लाको लालीखर्क, सराङडाँडा, फाक्तेप, रानीटार, चिलिङ्देन, पौवालगायत स्थानको हरियो पत्ती लिँदै आएको कञ्चनजंघाले कृषकलाई उचित मूल्य दिएको दाबी गरेको छ ।

मिक्लाजुङ गाउँपालिका–२, सराङडाँडामा रहेको नर्थ नेपाल टि–स्टेटले चिनियाँ प्रविधिको सानो प्रशोधन कारखाना भित्र्याई ठूला कारखानाको भरमा रहेका कृषकलाई राहत दिएको छ । नर्थ नेपालको पहलमा २०६६ सालमा नेपालमा भित्र्याइएको सो प्रविधि हाल नर्थ नेपालसहित पाँचथरको सातथुम्के चिया उत्पादक सहकारी संस्था एकतीन, लेकाली अग्र्यानिक चिया उद्योग राँके र फक्ताङ्लुङ टि–स्टेट आङ्सराङमा सञ्चालित छन् ।

यसबाट हरियो पत्ती बेच्न ठूला कारखानाकै भर पर्नुपर्ने अवस्थाबाट कृषक मुक्त भएको नर्थ नेपालका सञ्चालक समिति सदस्य राजु शेर्माले बताउनुभयो । नजिकै प्रशोधन कारखाना भएपछि कृषकमा थप उत्साह बढेको छ । अहिले नर्थ नेपालले जिल्लाको रवि, सराङ्डाँडा, ओलने र इलामको फुएँतप्पाका कृषकले उत्पादन गरेको हरियो पत्ती लिने गरेको छ ।

विसं २०३९ मा तत्कालीन सरकारले पाँचथरसहित पूर्वका इलाम, झापा, धनकुटा र तेह्रथुमलाई चिया क्षेत्र घोषणा गरेपछि पाँचथरमा व्यावसायिक चिया खेती शुरुवात भएको हो । जिल्लाकै पहिलो टि–स्टेट कञ्चनजंघाले विसं २०४० मा बगान विस्तार गरेको थियो ।

पाँचथरमा अहिले करिब एक दर्जन चिया प्रशोधन कारखाना छन् भने १३ वटा चिया उत्पादक सहकारी संस्थामा करीब १ हजार ५०० चिया कृषक आबद्ध रहेको केन्द्रीय चिया सहकारी संघ (सिटिसिएफ) का उपाध्यक्ष जबेगु बताउनुहुन्छ ।

हालसम्म देशभर १ सय १० चिया सहकारी दर्ता भएकामा ९४ सहकारी सिटिसिएफमा आबद्ध छन् । साना कृषकलाई सहकारीको मूल्य, मान्यता र सिद्धान्तभित्र आबद्ध गराई हरियो पत्तीको मूल्यमा कृषकको पहुँच विस्तार गर्न संघ लागिपरेको जबेगुले बताउनुभयो ।

हरियो पत्तीको उचित मूल्य नपाउँदा र पत्ती निर्यातका लागि सहज अवस्था सिर्जना नहुँदा कृषकका कतिपय बगान जंगलमा परिणत हुँदै गएका छन् । मूल्य र निर्यातमा देखिएको समस्याकै कारण भएका राम्रा बगानको समेत कृषकले उचित हेरचाह नगर्ने गरेको पाइएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया विस्तार योजनाको कार्यालय फिदिम नपा–३, लालीखर्कका प्राविधिक दीपक चौधरीले बताउनुभयो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया बिस्तार योजनाको कार्यालय फिदिम नपा–३, लालीखर्कले संकलन गरेको तथ्यांकअनुसार जिल्लामा १ हजार १ सय साना चिया कृषक रहेका छन् । फिदिम नगरपालिकामा २५९ कृषकले १ हजार ७ सय १२ रोपनी क्षेत्रफलमा चिया खेती गर्दैआएका छन् ।

याङ्वरक गाउँपालिकामा ९३ कृषक रहेका छन् । उनीहरुले १ हजार ६ सय ६५ रोपनी क्षेत्रफलमा चिया खेती गर्दैआएका छन् । हिलिहाङ गाउँपालिकामा १२१ कृषकले १ हजार ३२ र फाल्गुनन्द गाउँपालिकामा १९४ कृषकले २ हजार ६४ रोपनीमा चिया खेती विस्तार गरेका छन् ।

त्यस्तै, मिक्लाजुङ गाउँपालिकामा १४१ कृषकले २ हजार १५, कुम्मायक गाउँपालिकामा छजना कृषकले ६५ रोपनी, फालेलुङ गाउँपालिकामा १९४ कृषकले १ हजार ५७८ र तुम्बेवा गाउँपालिकामा ९२ कृषकले १९२ रोपनीमा चिया खेती विस्तार गरेका छन् ।

जिल्लामा चिया खेती विस्तारका लागि ठोस योजना बन्न नसक्दा सरकारी बगानका अधिकांश जमिन नै बाँझो रहेका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया विस्तार योजनाको नाममा जिल्लाको फिदिम नपा–३, लालीखर्कमा रहेको कूल जमिनको २६ रोपनी क्षेत्रफल बाँझो रहेको छ ।

१ सय रोपनी क्षेत्रफलमध्ये ५ रोपनी कार्यालयको भवनले तथा द्ध रोपनी खोल्साखोल्सीले ओगटेको छ । करिब ६५ रोपनीमा चिया रोपण गरिएको छ भने २६ रोपनी वर्षौंदेखि बाँझो रहेको छ । उक्त बगानमा अहिले २५ हजार ७५१ बोट चिया रहेको कार्यालयका निमित्त योजना प्रमुख प्रेमकुमार थिङले बताउनुभयो ।

सोही कार्यालय मातहत रहेको जिल्लाको फाल्गुनन्द गाउँपालिका–४, चिलिङ्दीन उपकेन्द्रको ३५ रोपनीमध्ये करिब १० रोपनीमा मात्र चिया रोपण गरिएको छ । उक्त बगानमा हालसम्ममा ४ हजार ५०० मात्र चियाका बिरुवा लगाइएको छ । करीब २५ रोपनी क्षेत्रफल वर्षौंदेखि खाली रहेको छ ।

जिल्लाको फालेलुङ गाउँपालिका–२, एकतीनमा रहेको उपकेन्द्रको अवस्था अझै नाजुक छ । कूल २९ रोपनी क्षेत्रफलमध्ये गत आवमा साढे २ रोपनीमा चिया खेती विस्तार गरिएको छ । बाँकी जमिन वर्षौंदेखि खेर गइरहेको छ ।

यसअघि बोर्डबाटैै सबै कार्यक्रम बनेर आउने हुँदा जिल्लाको अनुकूलता अनुसार कार्यक्रम बनाइ चिया खेती विस्तारको काम गर्न नसकिएको निमित्त योजना प्रमुख थिङ बताउनुहुन्छ । चालू आवदेखि भने जिल्लाबाटै कार्यक्रम बन्ने गरेकाले आगामी दिनमा जिल्लामा चिया खेती विस्तारको काम थप प्रभावकारी बन्ने उहाँको भनाइ छ । चालू आवमा चिया रोपण कार्यक्रमका लागि रु पाँच लाख रकम विनियोजन गरिएको छ । सो रकमले एकतीन उपकेन्द्रको सबै क्षेत्रफलमा चिया रोपण गरिने बताइएको छ ।

जिल्लामा चिया मजदुरको अभाव देखिएको छ । २ सय ५० मजदुर आवश्यक पर्ने जिल्लाकै पहिलो र ठूलो कञ्चनजंघा टि–स्टेट एण्ड रिसर्च सेन्टर प्रालिमा अहिले १५० जना मात्र कार्यरत रहेको प्रालिले जनाएको छ ।

जिल्लाका अधिकांश टि–स्टेटमा चिया मजदुरको अभाव छ । चिया विस्तार योजनाको फिदिम नपा–३, लालीखर्कमा पनि मजदुर अभाव रहेको कार्यालयले जनाएको छ । लालीखर्कमै रहेको बगान र चिलिङ्दिन तथा एकतीन उपकेन्द्रका लागि कार्यालयसँग एक चौकीदार र चारजना मात्र मजदुर छन् । उनीहरुले नै सबै बगान हेर्नुपर्ने बाध्यता रहेको कार्यालयका लेखापाल सुरेश साउतले बताउनुभयो ।

मजदुरलाई श्रम ऐनअन्तर्गत प्रत्येक दिन ८ घण्टा काम गरेको ज्याला प्रतिव्यक्ति रु २५३ दिए पनि वैदेशिक रोजगार र अन्य ज्याला मजदुरीका काममा मजदुर आकर्षित हुने गरेका छन् । जिल्लामा चिया मजदुर पाउन मुस्किल भएको छ ।

– जितबहादुर भण्डारी

 

  • 43Read This News:
  • 459306Total reads:
  • 268827Total visitors: