अब नारायणमान बिजुक्छे जीवनभर चुनाव नलड्ने

भक्तपुर, १७ कात्तिक २०७४ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अब जीवनभर चुनाव नलड्ने बताउनुभएको छ ।

उहाँले नेपाल मजदुर किसान पार्टीले अबको राजनीति युवा पुस्तालाई हस्तान्तरण गरेको बताउनुभयो ।

आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा बिजुक्छेले उम्मेदवारी नदिएको विषयमा चौतर्फी चर्चा भएपछि उहाँले भन्नुभयो–“मैले उम्मेदवारी नदिँदैमा अचम्म मान्नुपर्ने अवस्था छैन, मैले राजनीतिबाट सन्यास लिएको होइन, तर अब म जीवनभर चुनाव लड्दिन, नेमकिपाको अबको राजनीति युवा पुस्ताले हाँक्छन् ।”

उमेरका कारणले पनि आफूले उम्मेदवारी नदिएको प्रष्ट्याउँदै बिजुक्छेले भन्नुभयो–“म ७६ वर्षको भएँ, उमेरका कारणले कतिपय कुरा बिर्सन थालें, संसद्मा रहँदा दिमागमा धेरै बोझ रहन्छ, त्यसैले मैले उम्मेदवारी नदिने निर्णय गरेको हुँ, अब म पार्टीलाई अगाडि बढाउन सक्रिय रहनेछु ।” नेमकिपाले सक्षम युवा पुस्ता तयार पारेको बताउँदै अबको राजनीति यवा पुस्ताले सम्हाल्ने बताउनुभयो ।

बिजुक्छेले भन्नुभयो–“व्यक्तिलाई भोट दिने निकै कम हुन्छन्, नेमकिपालाई संगठनको भोट आउँछ, त्यसैले मैले उम्मेदवारी नदिँदा पनि नेमकिपाको भोट घट्दैन ।”

नेमकिपा जातिगत पार्टी नभएको बताउँदै उहाँले विगतमा भैरव रिसाललाई नेमकिपाले उम्मेदवार बनाउँदा पनि भोट नघटेको दाबी गर्नुभयो ।

 

  • 84Read This News:
  • 459678Total reads:
  • 269182Total visitors: