मनाङ, १५ कात्तिक २०७४ । विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको आधारशिविरमा अवलोकन गर्न आएका आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।
केही वर्ष अगाडि विषेशगरी यहाँ अवलोकनका लागि थोरै संख्यामा बाह्य पर्यटक आउने गरेकामा गत वर्षबाट आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।
करिब ४ हजार ४०० मिटर उचाइमा रहेको तिलिचो आधारशिविर आन्तरिक पर्यटकले खचाखच भरिएको छ । उक्त ठाउँमा ३ वटा होटल मात्रै रहेकाले सबै भरिभराउ भएपछि पाल टाँगेर पर्यटक बस्न बाध्य छन् । १६ हजार २३७ फिटमा रहेको तिलिचो ताल वेसीशहरबाट गाडीमा माथिल्लो मनाङ खागंसार पुगेपछि त्यहाँबाट २ दिनको पैदलयात्रा गरी ताल भएको ठाउँमा पुग्न सकिन्छ ।
खागंसार, श्रीखर्क र तिलिचो आधारशिविर यहाँ आउने पर्यटकका लागि मुख्य बासस्थानको रुपमा रहेको छ । तिलिचो आउने पर्यटक थ्रोङलापास गरेर मुक्तिनाथ दर्शन गर्न जाने गरेका छन् । यसरी आउने पर्यटकको चापले गर्दा होटल व्यवसायीले ठाउँको अभावमा भान्सामा समेत पर्यटकलाई बास बसाउँदै आएको खांसार होटलका सञ्चालक सोनाम गुरुङले बताउनुभयो ।



