स्पेन, १५ कात्तिक २०७४ । स्पेनको केन्द्र सरकारले बर्खास्त गरेको क्याटलोनियाका क्षेत्रीय नेता कारलस पुज्डमोन बेल्जियम पुगेका उनका वकीलले जानकारी गराएका छन् । तर उनले पुज्डमोन बेल्जियमको राजधानी ब्रसेल्समा भने नरहेको बताए ।
यसैबीच आप्रवासनसम्बन्धी बेल्जियमका मन्त्रीले पुज्डमोनसहित कुनैपनि क्याटलान नेताले बेल्जियममा शरण लिनसक्ने बताएका छन् । तर उनीहरू सबैलाई एक यूरोपेली नागरिकको नाताले दिइने सामान्य सेवा सुविधामात्र दिइने ब्रसेल्सले बताएको छ ।
यद्यपि पुज्डमोनले तत्काल राजनीतिक शरण लिनेबारे केही योजना नभएको उनका वकिलले बताएका छन् ।
पुज्डमोनले आप्रवासन मामिलाबारे जानकार एकजना वकिल पनि नियुक्त गरेका छन् ।
पुज्डमोनका वकिलले भने, “आवश्यक परेको खण्डमा मैले उनको वकिलका रुपमा काम गर्नेछु, अहिले उनका लागि मैले कुनै कागजात तयार पारिरहेको छैन ।”


