बिर्तामोडमा आज बिहान ९ बजेसम्मका लागि हट्यो

झापा, १३ कात्तिक २०७४ । बिर्तामोडमा जारी कफ्र्यु गए राति ९ बजेदेखि आज बिहान ९ बजेसम्मका लागि हटाइने भएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीमा गत साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले १२ घण्टाका लागि कफ्र्यु हटाइएको जानकारी दिनुभयो । प्रजिअ तिवारीले आज अवस्था हरेर कफ्र्यु लगाउने÷नलगाउने विषयमा थप निर्णय गरिने बताउनु भयो ।

शुक्रबार मध्याह्नदेखि बिर्तामोडको स्थिति तनाबग्रस्त भएपछि यहाँ कफ्र्यु लगाइएको थियो । पश्चिम चारपाने चोक, पूर्व बसपार्क, उत्तर महानन्द चोक र दक्षिण बिर्ताबजारलाई ४ किल्ला कायम गरी प्रशासनले कफ्र्यु लगाएको थियो ।

त्यस्तै, सोही पत्रकार सम्मेलनमा झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान प्रारम्भिक चरणबाट अघि बढेको जनाएको छ ।

टोलीका संयोजक गृहका सहसचिव वीरेन्द्रकुमार यादवका प्रारम्भिक चरणमा तथ्यांक संकलनमा टोली खटेकाले अनुसन्धानको विषय टुङ्गिन केही समय लाग्ने बताउनुभयो । उहाँले टोलीको अनुसन्धानलाई सहयोग गरिदिन सबैसँग आग्रह गर्नुभएको छ ।

“अहिले अनुसन्धान प्रारम्भिक चरणको तथ्यांक संकलनमा केन्द्रित छ”, उहाँले भन्नुभयो, “सबै कुराको अध्ययन अनुसन्धानपछि मात्र निष्कर्षमा पुग्छौँ ।”

 

  • 42Read This News:
  • 438547Total reads:
  • 250541Total visitors: