काठमाण्डौ उपत्यकाभित्र मानव रगतको अभाव

काठमाडौँ, ९ कात्तिक २०७४ । अस्पताल तथा बिरामीहरूबाट रगतको माग अत्याधिकरुपमा बढ्दा काठमाडौँ उपत्यकाभित्र रगतको अभाव देखिएको छ ।

पर्वहरू वडादशैँ, तिहार तथा छठका समयमा रक्तदाताका कमी एवं रक्तदान शिविर सञ्चालन समेत कम भएकाले उपत्यकाभित्र रगतको एक्कासी अभाव देखिएको हो ।

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रलाई रगतको माग र आपूर्तिबीचमा सहजता ल्याउन अहिले कठिन भएको छ । यसका लागि सोसाइटीले आम रक्तदातालाई रक्तदान गर्न र रक्तदानको शिविर बढाउन संघ सस्थालाई आह्वान समेत गरेको छ ।

केन्द्रका निर्देशक डा मनिता राजकर्णिकारले अहिले केन्द्रमा दैनिक रुपमा २ सय युनिट (पिण्ट) रगतको माग हुनेगरेको र बिरामीका आफन्तमार्फत नै मुस्किलले सो माग पूर्ति गर्ने गरेको जानकारी दिनुभयो ।

विगतमा पनि विशेष गरी दशैं, तिहार तथा छठका समयमा रगतको अभाव उपत्यकामा देखिने गर्दथ्यो । तर यस पटक तिहार तथा छठमा रगतको बढी अभाव देखिएको केन्द्रले जनाएको छ ।

ललितपुरस्थित बालकुमारीमा रहेको अस्थायी रक्त सञ्चार सेवा केन्द्रलाई ताहाचलस्थित आफ्नै केन्द्रीय कार्यालयबाट सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

यसका लागि अस्थायी प्रिफेव भवन निर्माण भइरहेको र ३ महिनाभित्र भवन निर्माण सम्पन्न भइसक्ने सोसाइटीका उपमहामन्त्री हरि न्यौपानेले जानकारी दिनुभयो ।

विभिन्न दुर्घटना, प्रसूति, क्यान्सर, शल्यक्रिया गर्नुपर्ने रोग जस्ता बिरामीको संख्या बढ्दै जाँदा रगतको माग काठमाडौँ, पोखरा, नेपालगंजलगायत प्रमुख शहरहरूमा दिनप्रतिदिन बढ्दै गएको छ ।

केन्द्रका निर्देशक डा राजकर्णिकारका अनुसार देशभर दैनिक रुपमा २ हजार युनिट रगतको खोजी रक्तसञ्चार सेवा केन्द्रमा मात्र हुने गर्दछ । हाल सोसाइटीअन्तर्गत आफ्ना ७२ जिल्लाका १०५ स्थानबाट रक्त सञ्चार सेवा सञ्चालनमा रहेको छ ।

दैनिक रुपमा ७८ प्रतिशत स्वयंसेवी रक्तदाता र २२ प्रतिशत बिरामीका आफन्तबाट अर्थात् शोधभर्नाबाट सङ्कलन गर्नुपर्ने बाध्यता केन्द्रसँग रहेको छ । अर्कोतर्फ चिकित्सकले शल्यक्रियालगायत अन्य जटिल उपचार गर्नुपूर्व बिरामीका आफन्तलाई रगत जम्मा गर्न लगाउने तर सो रगत पुरै प्रयोगमा नआउँदा कति रगत मिति नाधेर खेर जान्छ भन्ने एकिन तथ्याङ्क कुनै निकायसँग छैन । कूल रक्तदातामध्ये ८४ पुरुष र १६ प्रतिशत महिला रहेका छन् । केन्द्रसँग रगतका तत्वअनुसार ३ दिनदेखि ७ दिनसम्म भण्डारण गर्ने क्षमतामात्र रहेको छ ।

 

  • 36Read This News:
  • 417458Total reads:
  • 230214Total visitors: