तिहारमा महिलाको आम्दानीको स्रोत झिलिंगा रोटी

गुल्मीको वामीटक्सारमा तिहारका लागि झिलिंगा रोटी बनाएर सुकाउँदै स्थानिय महिला ।

पाल्पा, २७ असोज २०७४ । तिहारमा विशेष परिकार तथा कोसेलीका रुपमा प्रयोग हुने झिलिंगा रोटीको व्यापार महिलाको गतिलो आम्दानीको स्रोत बनेको छ ।

सदरमुकाम तानसेन, रामपुरलगायत विभिन्न ठाउँका महिलाले झिलिंगाको व्यापारबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

विगत १० वर्ष अघिदेखि झिलिंगाको व्यापार गर्दै आउनुभएकी रामपुर नगरपालिका–५ राङ्भाङकी मैयाँ श्रेष्ठलाई यतिबेला झिलिंगा बनाउन र बेच्न भ्याईनभ्याई छ । उहाँले विशेष गरी तिहार पर्वका बेला झिलिंगा बेचेर रु १ लाख ५० हजारसम्म आम्दानी गर्नुहुन्छ ।

“तिहारको चहलपहल शुरु हुनासाथ झिलिंगाको व्यापार गर्दै ठिक्क हुन्छ”, उहाँले भन्नुभयो । झिलिंगाको व्यापार शुरु गरेदेखि घरखर्च चलाउन र आफू परनिर्भर हुन नपरेको उहाँको भनाइ छ ।

झिलिंगा बनाएर १० वर्ष बितेको थाहा नभएको उहाँको अनुभव छ । श्रेष्ठले दशैँ तिहारका बेला कामदारसमेत राखेर झिलिंगाउत्पादन गर्दै आउनुभएको छ । अहिले दैनिक ३०० दर्जनभन्दा बढी झिलिंगा बिक्री गर्नुहुन्छ ।

त्यस्तै रामपुर नगरपालिका–४ मटेरी गोदामे चौतारीकी लक्ष्मी श्रेष्ठले झिलिंगाबाट राम्रै आम्दानी हुन थालेपछि विगत २ वर्षदेखि व्यावसायिक रुपमा उत्पादन शुरु गर्नुभएको छ । घरमै बसीबसी उहाँले झिलिंगा बनाएर तिहारका बेला रु २ लाख ५० हजारसम्म आम्दानी गर्नुहुन्छ ।

यहाँ उत्पादन भएको झिलिंगा पाल्पाका विभिन्न बजार, स्याङ्जा, बुटवललगायतका स्थानमा बिक्री हुने गरेको छ । “ग्राहकको माग बढ्दो छ, मागअनुसार झिनियाँ पुर्याउनै सकिएको छैन”, उहाँले भन्नुभयो ।

ठूलो लगानी गर्न नपर्ने तथा रु २५/३० हजारको लगानीमा घरमै बसीबसी लाखौँ रुपैयाँ कमाइ हुने भएपछि धेरैको दिनचर्या झिलिंगा बिक्रीमै बित्ने गरेको छ । झिलिंगा बिक्रीबाट महिलाले पर्याप्त आम्दानी लिन थालेका छन् ।

यहाँ उत्पादन भएको झिलिंगा प्रतिदर्जन रु ६० देखि रु ७० मा बिक्री हुने गरेको व्यापारी बताउँछन् । तिहार पर्वका लागि मात्र बनाइने झिलिंगाको हिजोआज अन्य समयमा पनि व्यापार हुने गरेको छ । झिलिंगा तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीज पर्वलगायतका विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग गर्ने गर्दछ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि प्रसादस्वरुप झिलिंगादिने चलन छ ।

 

  • 38Read This News:
  • 441468Total reads:
  • 253337Total visitors: