स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर, ३ असोज २०७४ । चाँगुनारायण नगरपालिका–८ सुडालमा एक दिने स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हालै सम्पन्न भएको छ ।

कृषिमा आश्रित महिलाले बढ्दो रासायनिक विषादी प्रयोग गर्नु, सुत्केरी अवस्थामा छिट्टै काम गर्नु, पोषिलो खाना नखानु, नियमित स्वास्थ्य परीक्षण नगराउनुलगायतका कारणले महिलामा आङ खस्नेलगायतका रोग हुनसक्ने सम्भावनालाई मध्यनजर गरी स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

भक्तपुर अस्पतालका डाक्टरद्वारा परीक्षण गरिएको शिविरमा ५१ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । ७ जनाको पाठेघरमा रिङ राखिएको छ । डाक्टरले २६ जनालाई अस्पतालमा थप जाँच गराउनका लागि सल्लाह दिनुभएको छ ।

थप जाँचपछि तीमध्ये केही महिलाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने अवस्था हुनसक्ने शिविरमा सहभागी भक्तपुर अस्पतालका डा मञ्जु बज्राचार्यले बताउनुभयो ।

शिविरमा आएका महिलाको आङ खसेको पहिचान भएमा सरकारले तोकेको कोटा र बिरामीको आर्थिक अवस्थाका आधारमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाउनका लागि भक्तपुर अस्पतालसँग समन्वय गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, भक्तपुरका मन्त्री परशुराम पाण्डेले बताउनुभयो ।

सुडाल स्वास्थ्यचौकीमा नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाले आयोजना गरेको शिविरमा जिल्ला शाखा भक्तपुरमा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमको सहयोग रहेको थियो । शिविरमा आएका बिरामीलाई निःशुल्करुपमा औषधि पनि वितरण गरिएको थियो ।

 

  • 38Read This News:
  • 459062Total reads:
  • 268605Total visitors: