पाल्पा, १ असोज २०७४ । तानसेन नगरपालिकाको बौघागुम्बास्थित ‘नेपालको ताजमहल’को रुपना चिनिने रानी महलमा पर्यटक आगमनमा कमी भएपछि सुनसान बनेको छ ।
आन्तरिक तथा बाह्य पर्यटक आगमनमा कमी भएपछि रानीमहल अहिले सुनसान बनेको छ । वर्षा र सडक बिग्रीएका कारण रानीमहलसम्म आउने पर्यटकको संख्यामा ज्यादै कमी आएको हो ।
कालीगण्डकी नदीको भिरालो चट्टानमा अवस्थित ताजमहल हेर्नलायकको पर्यटकीयस्थल हो । ऐतिहासिक पुरातात्विक हिसाबले महत्वपूर्ण मानिएको रानीमहल पर्यटक आकर्षणको लोभ लाग्दो सम्पदा हो ।
गत वर्ष भदौ असोज महिनामा पर्यटकको ओइरो लाग्ने रानी महलमा अहिले पर्यटक दिनमा ५/१० जना पनि नआउने गरेको स्थानीय बासिन्दा बताउँछन् । पहिला यही मौसममा ५० देखि १०० को बीचमा पर्यटक आउने गरे पनि अहिले आन्तरिक तथा बाह्य पर्यटक देख्न मुस्किल भएको स्थानीय बासिन्दा ताराबहादुर थापाले बताउनुभयो ।
साउनदेखि भदौ महिना वर्षाका कारण पहिरो खसेर अवरुद्ध सडक केही दिनअघिदेखि सञ्चालनमा आए पनि वर्षाका कारण पहिरो खस्ने र सडकमा खोलाखाल्सीले यात्रा कठिन भएको छ ।
ऐतिहासिक, पर्यटकीय, धार्मिक, पुरातात्विक, सांस्कृतिकरुपमा अत्यन्त महत्वपूर्ण मानिएकोे रानी महल दरबार क्षेत्रमा अध्ययन, अनुसन्धानका अलवा धार्मिक पर्यटक भ्रमण गर्न आउने गरेका छन् ।


