झापा, २८ भाद्र २०७४ । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग भइरहेका बेला केहीले भने यसलाई समाज सेवाको माध्यम बनाएका छन् ।
बाह्रदशी गाउँपालिका–७ निवासी आर्थिकरुपले अति विपन्न क्यान्सर पीडित युवतीलाई उपचारका लागि खर्च जुटाएर रोग मुक्त गराउने सोही ठाउँका टोम राजवंशीसहित तुलसीप्रसाद राजवंशी, गोपालचन्द्र राजवंशी, कुवित राजवंशी र श्याम राजवंशी समाजका उदाहरणीय पात्र बन्नुभएको छ ।
आन्द्रामा क्यान्सर भएर आर्थिक अभावले मृत्युसँग छटपटाइरहेकी फूलकुमारी राजवंशीको उपचारका लागि उहाँहरुले रकम जुटाएर सहयोग गर्नुभएको हो । फूलकुमारीको उपचारका लागि फेसबुकबाटै रु २ लाख ४० हजार संकलन भएपछि सोही रकमबाट उनको भरतपुर क्यान्सर अस्पतालमा उपचार भएको थियो । उपचारपछि फूलकुमारीले नयाँ जीवन पाएकी छन् ।
छोरीको जीवन बचाइदिन आग्रह गर्दै फूलकुमारीका बुबा शेषलालले हारगुहार गरेपछि राजवंशी समाज विकास समितिका पूर्वअध्यक्षसमेत रहनुभएका टोमले युवाको सक्रियतामा सामाजिक सञ्जालमार्फत ‘फूलकुमारी बचाउ अभियान’ चलाउनु भएको थियो ।
सो अभियानबाट जुटेको रकमबाट उपचार गराइएपछि उनले नयाँ जीवन पाएकी हुन् । उनको उपचारका लागि नेपाल तथा विदेशमा रहेका नेपालीले नबिल बैँकको २११००१७५०३६४० नम्बरको खाता रकम उपलब्ध गराएका थिए । सहयोग पाएपछि क्यान्सरको शल्यक्रिया गरेर सञ्चो भएपछि अहिले उनलाई घरमा ल्याइएको छ । सबैको सहयोगमा नयाँ जीवन पाएपछि फूलकुमारीका वुबा–आमा मात्र होइन अहिले डाँगीबारीवासी हर्षित छन् । सबैको स–सानो सहयोगले पनि क्यान्सरजस्तो रोग निको भएर र छोरीले नयाँ जीवन पाएको भन्दै उनका बुबा शेषलालले सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।


