चितवन नारायणगढ सडक मर्मतका कारण चितवनमा पर्यटकको कमी

चितवन, २१ भाद्र २०७४ । राजधानी काठमाडौँं, पोखरालगायतका पर्यटकीय स्थलमा विगतका वर्षमा भन्दा बढी पर्यटक भित्रिरहँदा सौराहामा भने खासै पर्यटक भित्रन सकेका छैनन् ।

काठमाडौंँ र पोखरा आवतजावत गर्ने मुख्य सडक नारायणगढ–मुग्लिन सडक खण्डको स्तरोन्नतिको काम भइरहेकाले पहिरो खस्ने, घण्टौँ जाम हुने जस्ता समस्याका कारण पर्यटक चितवन आउन नसकेका हुन् ।

क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष दीपक भट्टराईका अनुसार हालसम्मकै न्यून पर्यटक यतिबेला सौराहामा छन् । “बिगतका वर्षमा यतिबेला सौराहामा दैनिक ६०० को हाराहारीमा पर्यटक हुन्थे, यस वर्ष २०० पनि पुग्न मुस्किल छ ।”
सडककै कारण सौराहाको पर्यटकीय क्षेत्र नराम्रोसँग प्रभावित भएको उहाँको भनाइ छ । “दुई दिनअघि बिहान ७ बजे काठमाडौँबाट हिँडेका पर्यटक राति १२ बजे मात्र सौराहा आइपुगे,” भट्टराइले भन्नुभयो । बुकिङ् गरेका पर्यटकले पनि रद्द गरेका छन् ।

काठमाडौँं र पोखराका होटल यतिबेला ७५ प्रतिशतको हाराहारीमा बुकिङ् छन् । सौराहाका व्यवसायीलाई छटपटि छ । क्षेत्रीय होटल संघ सौराहाका सचिव दामोदर रेग्मी २ दिनका लागि आउने पर्यटक १ दिन पूरै सडकमा बस्नु परेपछि कसरी आउने प्रश्न गर्नुहुन्छ । १८ देखि २० घण्टासम्म पर्यटकले सडकमा समय बिताएको भन्दै उहाँले छिटो सडक निर्माण हुन नसके सौराहाको पर्यटन क्षेत्र तहसनहस हुने बताउनुभयो ।

आउँदो २ साताभित्र बाढीका कारण प्रभावित सबै होटल पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन उहाँले जोड दिनुभयो । राप्ति किनारका बगाएका पाँचवटा रेस्टुरेण्ट बन्दै छन् भने क्षति पु¥याएका होटलमध्ये ३ वटा सञ्चालनमा आउन बाँकी छ । व्यवसायीले काठमाडाँैँबाट चितवनतर्फ आउने गाडीलाई नौबिसे, हेटौँडाको दामन हुँदै एकतर्फी रुपमा सञ्चालन गर्नका लागि अनुरोध गर्दै आएका छन् । पहिरोमा कुर्नुभन्दा दामनतर्फको पहाडी दृष्य देखाउँदै पर्यटक ल्याउन व्यवसायीको सुझाव छ ।

सौराहाबाट ९ वटा पर्यटक बस दैनिक काठमाडौँ चितवन गर्ने भए पनि बसमा पर्यटक न्यून मात्रै आउने गरेका छन् । सौराहामा ठूला साना गरी ११० वटा होटल सञ्चालनमा छन् भने तिनको क्षमता ५ हजार पर्यटक अट्ने रहेको छ । होटल खाली हुँदा झण्डै रु १२ अर्ब ऋण बोकेका सौराहाका व्यवसायी चिन्तित बनेका छन् ।

 

  • 31Read This News:
  • 459200Total reads:
  • 268731Total visitors: