व्रण्डको नाममा ठगी, दरबारमार्गका स्टोरवन, ब्रेन्टली, पुमा र नाइक पसल सिलबन्दी

काठमाडौँ, २० भाद्र २०७४ । आपूर्ति मन्त्रालयले दरबारमार्गमा अन्तर्राष्ट्रिय ब्राण्डका सामान बेच्ने चार पसलमा सोमवार सिलबन्दी गरेको छ ।

आपूर्तिमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा गरिएको आकस्मिक अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको पाइएपछि ती पसल सिलबन्दी गरिएको हो । दरबारमार्गका स्टोरवन, ब्रेन्टली, पुमा र नाइक पसल सिलबन्दी गरिएको हो । ती पसलमा बिल बीजक नभएको, बढी मूल्य लिएको र वास्तविक मूल्यमा अत्यधिक वृद्धि गरी दशैँ छुट गरिएको भेटिएकाले सिलबन्दी गरिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताउनुभयो ।

नाइकले रु ४ हजार ७०० खरिद बिलको जुत्ता रु २६ हजार ९९० मा बिक्री गरेको र २ हजार ६०० को सामान रु २६ हजारमा बिक्री गरेको फेला परेको थियो । नर्थफेसमा रु १३ हजारको सामान बेचेर रु ४ हजारमा बिल काटेको भेटिएको थियो । खरिद र बिक्री मूल्यमा धेरै अन्तर राखेको उक्त पसललाई सबै कारोबारको कागजातसहित ३ दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ ।

उपभोक्ताले महँगो सामान बाध्यात्मक तरिकाले किन्नुपर्ने र जनताका समस्याभन्दा पनि व्यवसायीको मनपरीबाट समाजमा विकृति आएकाले अनुगमन आएको बताउँदै आपूर्तिमन्त्री मण्डलले व्यवसायी र उपभोक्ताका बीचमा समन्वय गरी जनता ठगिने कार्यलाई नियन्त्रण गरिने दृढता व्यक्त गर्नुभयो ।

दरबारमार्गसँगै कमलादीको सिटी सेन्टर, ठमेलको नर्थफेस र नक्सालको भाटभटेनीमा पनि आपूर्ति विभागले अनुगमन गरेको छ । कालोबजारी ऐनमा २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने भए पनि पसलले अत्यधिक नाफा खाने गरेको भेटिएकाले उनीहरुलाई कालोबजारी ऐनअनुसार कारवाही गरिने आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालले बताउनुभयो ।

 

  • 44Read This News:
  • 459062Total reads:
  • 268605Total visitors: