स्क्रब टाइफसबाट थप एकको मृत्यु, १३३ जना संक्रमित

चितवन, १५ भाद्र २०७४ । चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले बुधबार जानकारी दिए अनुसार नवलपरासी घर भई चितवनको भरतपुरस्थित सेन्ट्रल अस्पतालमा उपचारका क्रममा २१ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको हो ।

उक्त अस्पतालबाट प्राप्त प्रतिवेदनबारे जानकारी दिँदै कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले साउन ९ गते उपचारका लागि अस्पताल ल्याइएकी उनको भदौ १० गते मृत्यु भएको जानकारी गराउनुभयो ।

योसँगै जिल्लामा साउन यता स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । दुवै मृतक नवलपरासी घर भई चितवनमा उपचार गरिएका महिला हुन् ।

यसअघि नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको साउन २२ गते उपचार कै क्रममा नारायणी सामुदायिक अस्पतालमा मृत्यु भएको थियो ।

जिल्लामा चालु आवमा ४९७ जनाको परीक्षणमा १३३ जनामा स्क्रब टाइफस रोग पाइएको जनस्वास्थ्य कार्यालय, चितवनले जनाएको छ ।

भरतपुर अस्पतालमा ४०, बकुलहर रत्ननगर अस्पतालमा ४, चितवन मेडिकल कलेजमा ३१, नारायणी सामुदायिक अस्पतालमा ४२, मनकामना अस्पतालमा २, सेन्ट्रल अस्पतालमा १ तथा निजी ल्याबमा १३ जनामा टाइफस रोग देखिएको कार्यालयले जनाएको छ ।

माइट नामको एक प्रकारको सुक्ष्म किराले टोकेमा स्क्रब टाइफस सर्छ । यो रोग मुसाको कानमा बस्ने गर्छ । यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने हुन्छ ।

यसरी ज्वरो आउने बित्तिकै चिकित्सकको निगरानीमा औषधि लिन चिकित्सकले आग्रह गरेका छन् । जिल्लामा परीक्षणका लागि सरकारबाट कीटसमेत आइसकेको कार्यालयले जनाएको छ ।

 

  • 34Read This News:
  • 438251Total reads:
  • 250251Total visitors: