घलेम्दी जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण सकियो

म्याग्दी, ५ भदौ २०७४। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकिएको छ ।

घलेम्दी हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको ५ मेगावाट क्षमताको आयोजनाको आइतबार बाँध र आउटलेट (फोरवे)बाट खनिएको सुरुङ जोडिएको हो । आउटलेटबाट १ हजार मिटर र बाँधबाट ६९५ मिटर सुरुङ निर्माण गरिएको घलेम्दी हाइड्रो लिमिटेडका अध्यक्ष किशोर सुवेदीले जानकारी दिनुभयो ।

अन्नपूर्ण हिमालको फेदीमा रहने बाँधसम्म सडक नभएकाले पिठ्युँ र खच्चरमा बोकाएर सामान ढुवानी गरिँदै आएको थियो । विद्युत्गृहको छेउसम्म सडक पुगेको छ । रोपवेमार्फत करिब २०० मिटर माथि रहेको सुरुङको आउटलेटसम्म सामान ओसार्ने गरिएको छ ।

जनप्रतिनिधि, लगानीकर्ता, संस्थापक र मजदुरको उपस्थितिमा सुरुङ निर्माणको काम सकिएकामा खुशीयाली मनाइएको थियो ।

विसं २०७१ देखि शुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम हालसम्म ७५ प्रतिशत पूरा भएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

यो आयोजना म्याग्दीका उद्योगी, व्यापारी र सर्वसाधारणको पहलमा निर्माण हुन लागेको हो । विसं २०७४ चैतभित्र उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ । स्थानीय बासिन्दाको अपन्त्व र सहयोगले काम गर्न सहज भएको आयोजनाका प्रबन्ध निर्देशक प्रमोद श्रेष्ठले बताउनुभयो ।

१ हजार ३०० जनाको रु ३५ करोड ५० लाख संस्थापक सेयर रहेको आयोजनामा लुम्बिनी र टुरिजम विकास बैंकले रु ५५ करोड लगानी गरेका छ ।

 

  • 50Read This News:
  • 480895Total reads:
  • 288346Total visitors: