रसुवागढी नाकाबाट चिनियाँ सामग्री भित्रन शुरु

रसुवा, १८ साउन २०७४ । शुल्क पुनरावलोकन गरेका कारण आयात ठप्प भएको चिनियाँ सामग्री मंगलबारदेखि नेपाल भित्रन थालेको छ ।

सामान आयातनिर्यात गर्ने रसुवा जिवजिवेका व्यवसायी धर्म पौडेलका अनुसार चिनियाँ भन्सार प्रतिनिधिले प्रतिटिप १ हजार ५०० यूवान लिँदै आएकोमा लोड व्यवस्थापन गर्न एक्कासि भारी मात्रामा पुनरावलोकन गरी बढाएपछि २ हप्ता अगाडिदेखि नेपाली व्यापारीले सामान उठाउन बन्द गरेको र वार्ताको माध्यमबाट प्रतिटिप २ हजार ५०० चिनियाँ यूवानमा काम गर्न सहमत भएपछि केरुङको पाङसिङबाट सामान लोड गरी नेपालतर्फ ल्याउने क्रम शुरु भएको हो ।

चिनियाँ नीतिअनुसार भन्सार प्रतिनिधिमार्फत नै सामान लोड गराउनु पर्ने र सो अनुसार प्रतिट्रिप नेपाली रुपैयाँ २४ हजारबाट बढेर ४० हजार शुल्क पुगेको बताइएको छ ।

सहमति भएपश्चात् अहिले केरुङको पाङसिङमा ३५० ट्रक कन्टेनरमा सामान लोड भइसकेको र ती सबै कन्टेनर क्रमशः रसुवागढी नाकाबाट नेपाल भित्रन थालेका छन् ।

रेडिमेड, लत्ताकपडा, चुत्ताचप्पल समेतका विविध सामग्री लोड भएको ६१ वटा ट्रक कन्टेनगर मंगलबार अपराह्नसम्म रसुवागढी भन्सारको टिमुरे हाताभित्र प्रवेश गरेका र आयात भएको सामग्री छिटोभन्दा छिटो काठमाडाँैको बजारमा पठाउन सामानको परीक्षण र भन्सार असुली कार्य धमाधम अगाडि बढेको प्रमुख भन्सार अधिकृत केदार पनेरुले बताउनुभयो ।

चिनियाँ भन्सार प्रतिनिधिको शुल्क निर्धारणसम्बन्धी छलफलमा नेपाल र चीनका भन्सार प्रमुख, व्यापारी, व्यवसायी समेतको सहभागिता रहेको बताइएको छ ।

 

  • 32Read This News:
  • 438342Total reads:
  • 250339Total visitors: