८८ वर्षको उमेरमा थाई नरेश भूमिबोलको निधन, एक वर्ष राष्ट्रिय शोक मनाइने

थाइल्यान्ड, २८ असोज २०७३। विश्वकै लामो समय राजसिंहासन सम्हालेका थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको बिहीबार देहान्त भएको छ । उहाँ ८८ वर्षको हुनुहुन्थ्यो ।

थाइल्यान्डको इतिहासमा पटकपटक भएका सत्ता विद्रोह प्रयासमा राष्ट्रिय एकता एवम् स्थायी शान्तिका लागि प्रजातान्त्रिक प्रयासमार्फत थाइल्यान्डलाई नेतृत्व दिएका नरेश भूमिबोल लामो समयदेखि बुढ्यौली र विभिन्न रोगले ग्रस्त उहाँ थाइल्याण्डको सिरिराज अस्पतालमा उपचारका क्रममा निधन भएको थाई राजप्रासाद निकायले एक विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

पछिल्ला दुई वर्षमा धेरै समय उपचारका लागि उहाँलाई उक्त अस्पतालमा राखिएको थियो ।

उहाँको निधनको समाचार थाइल्यान्डको राष्ट्रिय टेलिभिजनमा पहिले श्यामश्वेत फोटो देखाइएपछि समाचार प्रस्तोतामार्फत घोषणा गरिएको थियो ।
थाई नरेश भूमिबोलप्रति जनताको श्रद्धा साँचो रहेको थियो जुन राजा र प्रजाबीच सम्बन्धलाई सुमधुर राख्न बनाइएको संयन्त्रले गरेको सावधानीपूर्ण व्यवहारका कारण उहाँप्रति जनताको प्रगाढ माया रहेको बताइने गर्छ ।
राष्ट्रियताका रुपमा रहेर करिब सात दशक सत्तामा रहनुभउका दिवङ्गत थाई नरेशको मृत्युले राष्ट्रको भविष्यलाई अनिश्चित राजनीतिक भूमरीमा लानसक्ने कतिपय विश्लेषकको बुझाइ छ ।

थाइल्यान्ड सरकारले उहाँको निधनपछि एक वर्षसम्म शोक मनाउने घोषणा गरेको छ ।

दिवङ्गत नरेश भूमिबोलको उत्तराधिकारीका रुपमा ६४ वर्षीय युवराज महा विजारालोन्कोनले सत्ता सम्हाल्नु हुने जानकारी दरबार स्रोतले जनाएको छ ।

लामो समयसम्म थाइल्यान्डमा देखिएको राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने घोषणाका साथ सन् २०१४ मा सेनाद्वारा लिइएको नेतृत्व उहाँको निधनपछि सङ्कटमा पर्नसक्ने स्थानीय राजनीतिक विश्लेषकले बताएका छन् ।

यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले बिहीबार एक शोक विज्ञप्ति जारी गर्दै थाई नरेश भूमिबोलको निधनले आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ ।

उहाँको निधनपछि थाई राजपरिवार, सरकार र जनतालाई पठाउनुभएको शोक सन्देशमा उहाँले दिवङ्गत नरेश भूमिबोलको देशप्रतिको लामो समर्पण र उहाँको राष्ट्रिय एकता कायम गर्ने नेताको रुपमा स्मरण गर्नुभएको छ ।

त्यसैगरी अमेरिकी राष्ट्रपति बाराक ओबामाले दिवङ्गत थाई नरेश भूमिबोलको निधनप्रति दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारजन, थाई जनता र सरकारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

राजा भूमिबोल अमेरिकाको निकट मित्रका रुपमा गरेको भूमिकाको प्रशंसा गर्दै उहाँ थाई जनताका मनमस्तिष्कमा गडेका नेता भएको बताउनुभएको छ ।

उहाँ अमेरिकाको निकट मित्र भई विभिन्न समयमा अमेरिकी नेतृत्व सम्हाल्नुसभएका विभिन्न राष्ट्रपतिका महत्वपूर्ण सहयोग गर्नुभएको ओबामाको भनाई छ ।

अमेरिकी राष्ट्रपति ओबामाले आफू सन् २०१२ थाइल्यान्ड पुग्दा थाई जनताले उहाँप्रति देखाएको न्यानो मायाको अनुभूति गरेको सन्देशमा जनाउनुभएको छ ।

सन् १९४६ मा बैंककको राजदरबारमा भएको गोलीकाण्डमा राजा आनन्दको मृत्यु भएपछि १८ वर्षको उमेरमा भूमिबोलले राजगद्दी सम्हाल्नु भएको थियो ।

प्रजातान्त्रिक शासनद्वारा थाइल्यान्डको प्रगति देख्ने दिवङ्गत नरेशले देश सङ्कटमा पुगेका बेला सन् १९७३, १९९२ मा आफ्नो महत्वपूर्ण भूमिकामार्फत देशलाई एकताबद्ध गर्दै अघि बढ्नुभएको थियो ।

दिवङ्गत नरेश भूमिबोलको जस्तै नेतृत्व पाउन नसकेमा पटकपटक सत्तामा पुगे पनि नरेश भूमिबोलको अगाडि राजनीतिक कौशलता प्रदर्शन गर्न नसकेका कारण सत्ता बाहिर रहन पुगेका दल तथा नेताहरुबीचको द्वन्द्वका कारण कतै थाइल्यान्डले राजनीतिक अनिश्चितताको सामना गर्नुपर्ने त होइन भन्ने विचार शोकाकुल नागरिकको चिन्ताको विषय बनेको छ ।

 

  • 48Read This News:
  • 406385Total reads:
  • 219729Total visitors: