सुनसरीका मुस्लिम समुदायले मनाए इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहरम

सुनसरी, २७ असोज २०७३। इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहरम (दाहा) पर्व सुनसरीका मुस्लिमले पनि मनाएका छन् ।

तीन दिनअघिदेखि मोहरमको चहलपहल सुरु भएकोमा बुधबार सुनसरीमा मुस्लिमले मोहरम (दाहा) सम्पन्न गरेका हुन् । मुस्लिमले एकआपसमा लाठी, भाला तथा झर्नी खेल्दै मोहरम पर्व हर्षोल्लासका साथ मनाएका छन् । इस्लामिक संवत् १४३४ हिजरीको पहिलो महिनाको चाँदको १ तारिखदेखि सुरु हुने मोहरम पर्व १० तारिखसम्म मनाइने गरिन्छ ।

मुस्लिम समुदायको पर्व भएकाले युवाले समूह–समूहमा भेला भई आफ्नो कलाकौशलसहितको झर्नी खेल खेलेको र दाहा मेलामा मनोरञ्जनात्मक कला प्रदर्शन गर्दै सम्पन्न गरेको जल्पापुरका अब्बास मियाँले जानकारी दिनुभयो ।

इराकको करवलामा भएको धार्मिक युद्धमा इस्लाम धर्मावलम्बी इस्लाम धर्मका प्रवर्तक मोहम्मद साहेबको नाति हजरत इमाम हुसेनलगायत ७२ जनाले शहादत प्राप्त गरेको सम्झनामा मनाइने यो पर्वमा गरिबलाई खिचडी, फलफूल, विभिन्न प्रकारको मिठाई र कपडा दान गर्ने चलनसमेत रहेको स्थानीय अफरोज मियाँले जानकारी दिनुभयो ।

यस पर्वमा चन्द्रमाको ९ तारिखको साँझ स्थापना गर्ने र १०औँ चाँदको दिन दिउँसो बाजागाजाका साथ स्थानीय करवलामा लगेर विसर्जन गर्ने चलन रहेको समाजसेवी मो हविव मन्सुरीले जानकारी दिनुभयो ।

यसैबीच, मोहरमको अवसरमा बबिया जल्पापुर र इनरुवाका मुस्लिमले चौकचौकमा झरनी तथा लाठी खेल खेलेर मनोरञ्जन गराएका छन् । उनीहरुले झर्नी खेलेर मनोरञ्जन गराएबापत स्थानीवासीले केही दक्षिणा पनि दिएका थिए ।

 

  • 55Read This News:
  • 472805Total reads:
  • 281380Total visitors: