काठमाडौँ, ३ पुस २०७३। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
सञ्चारमन्त्री कार्कीद्वारा प्रस्तुत सम्पत्ति विवरणअनुसार ओलढुङ्गा माम्खा गाविस–१ मा स्वं. रत्नदेवीको नाममा ४ रोपनी जमिन, मामाबाट स्वामित्व हस्तान्तरण भई आएको छोरोको नाममा रहेको भक्तपुर झौखेल–१ स्थित १० आना २ पैसा जमिन र उहाँकै नाममा भक्तपुर सिपाडोल–१ मा ९ आना जमिन रहेका छन् ।
उहाँले आफ्नी पत्नीको स्वामित्वमा भारतको सिक्किम र दार्जिलिङ्मा केही जग्गा र घरहरु रहेको उल्लेख गरेको छ ।
मन्त्री कार्कीको नाममा विभिन्न बैंकमा गरी रु १४ लाख नगद मौज्दात रहेको छ । यस अतिरिक्त १० तोला सुन रहेको छ ।
यसैगरी वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले श्रीमती अन्जना (उप्रेती) भण्डारीका नाममा पैतृक स्रोतबाट प्राप्त काठमाडौँमा अढाई तले घरसहित घडेरी र आमा श्रीमती दमयन्ती भण्डारीका नाममा तनहुँको पुर्कोटमा ३ तले घरघडेरी त्यस्तै, पैतृक स्रोेतबाट प्राप्त श्रीमतीका नाममा काठमाडौँमा २६५.।९ वर्गमिटर र आमाका नाममा तनहुँमा २९ रोपनी जग्गा रहेको र जिन्सिमा ४५ तोला सुन र ६० तोला चाँदीका साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा रु २ लाख ५५ हजार नगद रहेको अनी विभिन्न व्यक्तिबाट रु ३ लाख ५० हजार ऋण लिएको र ११ लाख ऋण दिएको पनि उल्लेख गरेको छ ।
मन्त्री भण्डारीको नाङल क्रसर ढुङ्गा उद्योग काभ्रेपलाञ्चोकमा १० प्रतिशत शेयर रहेको छ ।
यसैगरी कानुन, न्याय तथा संसदीय मालिमामन्त्री अजय शङ्कर नायरले आमा ईश्वरीदेवीको नाममा सिराहा बड्हरामाल – ६ मा ८ कठ्ठा जग्गा र आफ्नै नाममा सिराहामै १७ धुर जग्गा जग्गा त्यस्तै, आमाकै नाममा सिराहामा ५ बिगाहा जग्गा र बाजे सरभुग नायकको नाममा सिराहा, उदयपुर र धनुषमा ४ बिगाहा जग्गा रहेको उहाँले उल्लेख गर्नुभएको छ । यी सबै पैतृक सम्पत्ति भएको उल्लेख छ ।
मन्त्री नायकसँग सुन १५ तोला, चाँदी ४० तोला, नगद रु २ लाख र एभरेष्ट बैंकमा रु २ लाख नगद रहेको विवरणमा उल्लेख छ ।
सिँचाइमन्त्री दीपक गिरीले आफ्नो सम्पत्ति विवरणमा राजधानी बाहिर ६ बिगाहा ३ कठ्ठा जमिन भोगचलनमा रहेको काठमाडौँंको टोखा चण्डेश्वरी नगरपालिका–४ मा २ रोपनी ९ आना जग्गा र सो जग्गामा बनेको ३ तले पक्की घर र दाङ, हेकुली वडा नं ९ मा ६ बिगाहा ३ कट्ठा जग्गा र सो जग्गामा ५ वटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
सम्पत्ति विवरणमा ५० तोला सुन, झन्डै २ किलो चाँदी र ३ सेट हीराका गहना पैतृक सम्पत्तिबाट आर्जन भएको उल्लेख छ ।
त्यसैगरी, उहाँको ग्लोबल बैंकमा रु ३ लाख ९४ हजार नगद मौज्दात रहेको छ । यस अतिरिक्त स्वर्गद्वारी क्रसर उद्योगमा १० प्रतिशत र योगी ब्रदर्स क्रसर उद्योगमा २५ प्रतिशत सेयर र १ सवारीसाधन (स्कोरपिया) रहेको उहाँले आफ्नो सम्पत्ति विवरणमा उल्लेखछ ।


